नवलपुरमा एक बर्षमा ३ सय ६२ जना वेपत्ता
रामकुमार श्रेष्ठ
नवलपरासी, १२ साउन ।
नवलपरासीमा एक बर्षमा कति मानिस हराए होला १०, २०, ५० यस्तै तथ्यांक अनुमान गर्लान सबैले तर यकिन तथ्यांक हेर्ने हो भने हराउनेको संख्या कहाली लाग्दो छ ।
एक बर्षमै पूर्वी नवलपरासीमा ३ सय ६२ जना वेपत्ता भएको प्रहरी रेडर्कमा उल्लेख छ । अझअर्को कहाली लाग्दो तथ्यांक के छ भने हराएका मध्ये अधिकांश महिला र बालिका छन् भने वेपत्ता भएका मध्ये आधाभन्दा बढी फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीको तथ्यांकमा उल्लेख छ ।
पूर्वी नवलपरासीमा हराएका अर्थात वेपत्ता भएका ३ सय ६२ जना मध्य दुई सय १० जना अझै वेपत्ता रहेका छन् ।
एक बर्षमा हराएका मध्य झण्डै ७० प्रतिशत बढी नभेटिए गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीको आर्थिक बर्ष २०७५/०७६ को तथ्यांक अनुसार एक बर्षमा हराएको भनेर उजुरी गर्न आएका ३ सय ६२ मध्ये १ सय ५२ जना फेला परेका छन् भने बाँकी दुई सय १० जना वेपत्ता छन् ।
हराएका मध्य महिला तथा बालिका बढी छन् । गत आर्थिक बर्षमा हराएका ३ सय ६२ जना मध्ये महिला २ सय ५९ जना, बालिका ६२ जना पुरुष २९ जना र बालक १२ जना रहेका छन् ।
ती मध्य महिला ९१ जना, बालिका ४३ जना, पुरुष ९ जना र बालक ९ जना फेला परेका छन्। हराएको भनेर उजुरी गरेका मध्य एक सय ६८ जना महिला, २० जना पुरुक्ष, १९ जना बालिका र ३ जना बालक अझै वेपत्ता रहेका छन् ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय नवलपुरको पछिल्लो ३ बर्षको तथ्र्याकमा हराएको भनेर ६ सय ५० जनाको उजुरी आएकोमा ३ सय ६९ जना अझै फेला नरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

कतिपय हराएको भनेर उजुरी गर्ने तर सोझै परिवारको सम्पर्कमा आएपछि फेला परेको भनेर प्रहरीकोमा खबर नगर्ने गरेका कारण पनि फेला नपरेको तथ्यांक यति धेरै रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।
त्यसैगरी महिलाहरुको केशमा महिलाहरु विवाह गरेर जाने आफन्तले हरायो भनेर उजुरी गर्ने तर विवाह गरेको थाहा पाएपछि प्रहरीकोमा जानकारी नदिने जस्ता कारणहरुले उनले वेपत्ताको संख्या धेरै देखिएको बताए । रानाभाटका अनुसार वेपत्ता भएकाहरुको भने खोजी कार्य जारी रहेको छ ।