नवलपुर जिल्लाका शैक्षिक माफियाहरु !
नवलपरासी, १३ साउन ।
विप्लव नेतृत्वको नेकपाका भातृ संगठन अखिल क्रान्तिकारीले नवलपुर जिल्लाका ३ जनालाई शैक्षिक माफिया भन्दै विद्यालय अगाडि ब्यानर टाँगेका छन् ।

नवलपुरको गैडाकोटमा रहेको अक्सफोट इन्जिनियरिङ्ग कलेजका प्रिन्सिपल हरि भण्डारी, गैडाकोटकै मुकुन्दसेन बोडिङ्ग स्कुलका प्रिन्सिपल एवम् लगानी कर्ता राजेन्द्र पौडेल र नेपाल माविका प्रधानाध्यापक एवम् सेन्टजोसेफ स्कुलका लगानी कर्ता शिवप्रसाद देवकोटालाई शैक्षिक माफिया भनेर उल्लेख गरिएको छ ।
अखिल क्रान्तिकारी लुम्बिनी ब्युरोले साविक लुम्बिनी अञ्चलका सम्पूर्ण जिल्लामा शैक्षिक माफियाहरु भन्दै सम्बन्धित विद्यालयको गेट अगाडि ब्यानर बनाएर टाँगेका छन् ।
ब्यानमा भण्डारीलाई भर्ना, मासिक र बार्षिक शुल्क विद्यार्थीहरुबाट मनोमानी तरिकाले असुलेको, विद्यार्थीको स्वतन्त्रता हनन गरेको, मापदण्ड विपरित विद्यालय सञ्चालन गरेको र छात्रवृत्तिको कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।
त्यसैगरी राजेन्द्र पौडेललाई आफ्नै छात्रामाथि बलात्कारको प्रयास गरेको, सार्वजनिक जग्गा अतिक्रमण गरेको, विभिन्न शिर्षकमा विद्यार्थीसँग रकम असुली गरेको, मापदण्ड विपरित विद्यालय सञ्चालन गरेको, पोशाक र पुस्तक विद्यालयबाट नै विक्री गरेका जस्ता आरोप लगाएका छन् ।
त्यसैगरी शिव देवकोटालाई सरकारी विद्यालयको स्थायी शिक्षक भएर पनि अन्य क्याम्पसहरुमा पढाउने गरेको, स्थायी शिक्षकले निजी विद्यालयमा लगानी गरेको, विभिन्न शिर्षकमा विद्यार्थीसँग रकम असुली गरेको आरोप लगाइएको छ ।