स्मृतिको पन्नाबाट १ ****संमरण****

मौसम बदलिदै थियो । आकाशमा कतै बादल त कतै रहरै रहरको ताराहरु थिए । मैले गन्दै थिए ती ताराहरु । जस्ले अलि बढि उज्यालो दिन्थे । अक्सर ताराहरु निस्के पछि मैले सोच्थे त्यो तराहरु उसले पनि हेर्छ होला ? तारा अनि निख्खर जुन लागेपछि यादहरु शित्तल बनिदिन्थ्यो । तारासंगै हजारौ सपना मैले देखेकी थिएँ । आकासकै सौर्य मण्डलमा लाग्यो मैले निकै ठूलो संसार बनाएकी थिए जहाँ संसारको भूचालले कुनै सामानहरु जहां हुन पर्ने हो त्यहां नरहेपनि ऊ ठिक मेरै आडमा उभिएको हुनेछ । कल्पना गर्थे कतै सपनाहरु त्यसै खेरा त जादैन? मैले आफ्नै विश्वास नगरेर उसको विश्वास गर्थे । उ को हो के थियो महाशय म पछि भनुला तर जुन र तारा जव निकै चहकिलो हुन्थ्यो त्यो चहकमहकमा मैले सोच्थे हामी निकै करिव छौ ।
बालकोनीको पश्चिममा उभिएर हेर्दा घरैघरै भएकोले उक्सर म उत्तरतिर आँखा लगाउथे । उत्तरमा अग्लो डाडाँहरु र दक्षिणमा चितवन निकुञ्ज साथै घना जंगलपनि । मैले नारायणी नदिको सुस्साईमा किन किन उस्लाई महशुस गर्थे । निकै न्यानो अंगालोको रुपमा मैले त्यो सिरेटो महशुस गर्थे । तपाई ठान्नुहोला म पागल । हो म पागलै जस्तो मान्छे । स्याल कराउँदा मलाई झन्झड नै नलाग्ने किन होला जस्तै आभास हुन्थ्यो । किन भने उस्को याद मिठो बन्दै जान्थ्यो र त्यो मिठास मैले स्यालको कर्कस आवाजमा पनि महशुस गर्थें। भन्छन् चिसो सिरेटाले त मन चिरिन्छ तर मेरो हकमा मैले त्यो सिरेटो मंसिर पुसको मध्यरातमा पनि उस्को यादको रुपमा लिने गर्थे। यसो हेर्नु न मध्यरात अनि न्यानो सिरक छोडेर यादको चिसो ताप्ने म पागल होइन र?
मेरो पागलपन उस्को याद थियो । मेरो सपना नै ऊ भएकोले पनि मैले कहिल्यै कुनै रात बाल्कोनीमा नबसेको रात भएन । कुनै मध्य रातमा मोवाइल निकालेर फोटो नहेरको कुनै दिन भएन । साच्चिकै तपाई मलाई पागल भन्न सक्नुहुन्छ । भर्खर आकासमा उसा पलाइरहेको बेला मैले उस्कै सपना देख्दै सुत्थे सपना देख्नु मेरो गल्ति त पक्कै होइन तर मैले जतिबेला पनि उस्को सपना देख्नु पागल पन थियो ।

अं मेरो बाल्कोनीको कुरा बनावटी जस्तै लाग्छ होला । मैले आकासमा नियालेको जुनको ताजापन तपाईलाई बासी १ तर मैले कहिल्यै यादहरु बासी हुन दिइन । जहिल्यै याद ताजा हुन्थ्यो र प्रेमको ब्यारोमिटर पनि लम्बिदै लम्बिदै जान्थ्यो ।
कुनै दिन ऊ त्यो आकासमा मैले बनाएको सपनाको सानो संसार मैले त्यही मायाको ब्यारोमिटर सिधा बनाएर मनमनै नाप्थे । त्यही न्यानोपनले त मैले पुसको सिरेटो ताप्थे । हं हं नपत्याएको? किन अविश्वास नि ? मेरो कनै डिसनेरीमा अविश्वास भन्ने नै छैन त । म के गरुँ ? जव तपाईको दिमागमा कुनै व्यक्ति, चाहा र आशा हुन्छ भने म भन्छु तपाईलाई कुनै गर्मीले पोल्दैन र कुनै चिसो उरले डस्दैन नपत्याए मनैदेखि माया गरेर हेर्नु । अनि आफै थाहा पाउनुहुन्छ ।
उस्को याद मनभरि न्यानो हुन्थ्यो अनि कोठामा पसेर एकपटक उस्को आभास हुन्थ्यो अनि म उतै तिर ढल्केर भन्थे …. मलाई दह्रो अंगालोमा बाँध । म महशुस गर्थे उस्को अंगालो अनि निदाउथे मस्त । कुनै दिन ब्यूझेर उस्लाई खाज्दै खोज्दिन किनकि मेरो मुटुमा धुकधुक हुदा उ मैरै छेउमा छ भन्नेमा ढुक्क ।
कुनै दिन साथीसंग एउटै बिस्तारमा सुत्दा यस्तो लाग्थ्यो कोही मेरो र उस्को बिच आउदैछ । …..कोही ? अनि बिस्तारै साथीसंग अलग्गिएर उस्लाई आफैभित्र सुन्थे । निकै निरीह याद मेरो दिमागमा आउथ्यो । एक्लै हुनुमा म उ संग भएको किन सोच्थे ? अनि उस्को यादमा म किन यति पागल थिए ?
यति बेला सोचिरहेकी छु। मैले देखेको ऊ त्यो आकास, अनि मैले बनाएको सपनाको घर । घर त मैले निकै पहिला बनाएको हुँ। जहाबाट मैले मेरो दुनियाँ उसको अंगालो सम्म मात्र कोरेको हुंँ । त्यो अंगालो, त्यो दुनिया यति मजबुद थियो जहां कोही पुग्दैनथ्यो। मात्र उ हुन्थ्यो र म। त्यो गोरेटो फराकिलो भएर पनि कहिल्यै कोही अटाएन। कहिल्यै मैले ऊसम्म पुग्ने बाधाहरु देखिन। कहिल्यै ऊसम्म पुग्ने बाधाअड्चन आउछन भन्ने सोचिन यो मेरो बिश्वास हो उ प्रति । अनि मेरो अटल प्रेम पनि ।
कुनै दिन निराश हुन्थे सहास , हिम्मत उसैले थपिदिएको आभास पाउथे त्यो आभास मैले निकै बेर संगालेर राख्नु र फेरि उसलाई सताउनु मेरो काम । कतिपय कुराहरु मैले उसलाई भन्थें। मेरा भावनाका कुरा मेरो आभासका कुरा । खोई कति माया अनि विश्वास हो उ तपाईले अनुमान लगाउन सक्नुहुन्न ।
अनुमान कै आधारमा प्रेम पनि कमजोर हुदोरहेनछ । मैले बुझेको प्रेममा कुनै जात, धर्म, लि·, सम्पत्ति र स्वार्थ हुदैन्थ्यो । स्वार्थ नहुनुको मतलव तपाईको अनुकुलमा समय चल्ने भने पक्कै होइन । प्रेम त चाहना हुदाहुदै पनि सहनुमा हुन्छ ।
मलाई लाग्थ्यो त्यो मैले सहेको छु । नत्र हरेक सेकेण्ड मैले कसरी उस्को लागि भनेर केही गुमाउदै थिए। त्यो हो मेरो समय, मेरो जवानी, मेरा चाहनाहरु । अरे बाबा, एक प्रेमीको सपनाको लागि खाईनखाई कस्ले कुर्छ ? जवानीको मक्त यौवन खेरा जान दिने को पे्रमी होला ? मधुशालामा उभिएर रक्सीको गन्ध आभास नहुने को प्रेमी होला ? मैले कहिल्यै प्रश्न गरिन ? तर मधुशालाको मदिरा के हो थाहै नभए पनि एक पे्रमिका किन मस्त हुन खोजे ? म मस्त थिए । म मातेको थिए समयको एक मिठो झोक्काले । खोइ त्यो मात कस्तो हो किन त्यो मातभित्र मैले सुकोमल मन उस्को नाममा पास गरे। बिना सम्झौता ।
बिना साछी मैले उस्लाई पास गरे मेरो हरेक खुशी । मेरो जीवन । मैले पास गरिदिएको थिए मेरो हरेक अनुभव, अंग प्रत्यंग। किन म सुकुम्वासी भएर उस्लाई मेरो प्रेमको सागर नहर बनाएर खन्याए ? किन खुशीहरुको नहर बाध्न नदिएर उस्को मायामा बहकिए । बहकिनु यस्लाई भन्छन कि भन्दैनन । मलाई केही थाहा छैन । तर म उस्कै पछि पछि बगिरहे । अपार मायाले उस्लाई नुहादिएर मैले किन सुख्खा हुन पुग्थे । खोइ के भएर हो म उस्को मायाले हल्का हुन्थे ।