पूर्वी नवलपरासीमा जग्गा कब्जा गर्ने स्थानीयलाई प्रहरीले धपायो
हरि शर्मा, नवलपुर, २० साउन
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१७ मा रहेको खेतान गु्रपको जग्गा कब्जा गरी खनजोत गरिरहेका स्थानीयहरुको समूहलाई प्रहरीले हटाएको छ । गोर्खा बु्रअरीका मोहन खेतानले केही वर्षअघि नारायणी नदी किनारमा ३६ बिगाहा जमिन स्थानीयबाट खरिद गरेका थिए ।
लामो समयदेखि खाली रहेको उक्त जग्गा खनजोत गर्न हर्कपुर, बेल्डिया, नगरटाँडीलगायतका स्थानबाट करिब १ सयदेखि डेढ सयको संख्यामा स्थानीयहरु पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक अर्जुन रानाभाटले बताए । स्थानीयले आ–आफ्नो क्षेत्रफल छुट्टाएर शनिबार र आइतबार खनजोत गरेका थिए ।

टेक्टरसहित दुई दिनसम्म खनजोत गर्न थालेपछि उद्योगले त्यसबारे प्रशासनलाई जानकारी गराएको थियो । प्रशासनको निर्देशनपछि प्रहरीको टोलील उनीहरुलाई हटाएको हो खनजोत गर्ने केही स्थानीयले आफूहरुलाई मेयर साहेबले पठाएर आएको भन्ने जवाफ दिएको स्थानीयलाई उद्दृतगर्दै नायब उपरीक्षक रानाभाटले बताएका छन् । जग्गा खनजोत गर्ने कार्य नरोके कारबाही हुने जनाएपछि दुई दिनपछि स्थानीयहरु त्यहाँबाट हटेको नायब उपरीक्षक रानाभाटले जानकारी दिए ।
नगरप्रमुख पौडेलले आफूले कसैलाई पनि अरुको सम्पत्ति खनजोत गर्न नपठाएको बताए । कसैले बदनाम गर्न आफ्नो नाम जोडेको भन्दै आफै पुगेर जग्गा खाली गराएको बताएका छन् ।एक्कासी समूह बनाएर उद्योगको जग्गा खनजोत गर्नुले नेत्रविक्रम चन्द विप्लव समूहले पठाएको हुन सक्ने प्रहरीसहित केहीले आशंका गरेका छन् । तर विप्लव समूहका जिल्ला नेताहरुले आफूहरुको उक्त कार्यमा संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
जग्गा कब्जा बारे पार्टीसंग जोडिएर केही कुरा बाहिर आएको बताउँदै विप्लव समूहका ति नेताले जग्गा जोतभोग गर्न कसैलाई नपठाएकोले अनर्गल प्रचारमा नलाग्न अनुरोध गरेका छन् ।