पश्चिम नवलपरासीका व्यवसायीद्धारा चन्दा मागेको गुनासो, चन्दा नदिन प्रहरी प्रमुखको आग्रह


हरि शर्मा, परासी, २७ साउन




पश्चिम नवलपरासीका उद्योगी,व्यवसायीहरुले चन्दा माग गर्ने क्रम बढेको बताएका छन् । जिल्लामा सञ्चालित ठूला उद्योगदेखि अन्य व्यवसायीहरुसँग चन्दा माग गरेर हैरानी बनाउन थालेको उनीहरुको गुनासो छ ।

पछिल्लो पटक चन्दा माग गर्ने क्रम बढेको बताएपनि कस्ले माग्यो भन्नेबारे व्यवसायीहरुले खुलाएका छैनन् । उद्योग वाणिज्य संघ नवलपरासीले सोमबार परासीमा आयोजना गरेको ‘औद्योगिक सुरक्षा’ विषयक अन्तरकृया कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले स्थानीयको अवरोध र चन्दाका कारण उद्योग सञ्चालन गर्न समस्या भएको बताएका थिए । व्यवसायीहरुले कस्ले चन्दा मागेको हो भन्नेमा केही खुलाएका छैनन् ।




कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले जिल्लामा बहुराष्ट्रि उद्योगदेखि अन्य उद्योगहरु रहेकाले सुरक्षाको प्रत्याभुती दिन माग गरे । खुला सीमानाका कारण पनि चोरी निकासीसँगै शान्ति सुरक्षाको चुनौती बढेको अध्यक्ष भण्डारीको भनाई थियो । यसैबीच कार्यक्रममाप्रदेश ५ का प्रहरी प्रमुख डिआईजी सुरेश विक्रम शाहले कसैलाई पनि चन्दा नदिन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ ।

शान्ति सुरक्षाको अवस्था मजबुद रहेको बताउँदै डिआईजी शाहले पार्टी सञ्चालन वा कुनै बहानामा कसैले चन्दा माग गरेमा नदिन उहाँले उद्योगी व्यवसायीसँग आग्रह गर्नु भएको हो । विप्लव समूहले अहिले विभिन्न जिल्लामा चन्दा आतंक मच्चाउन थालेकोले त्यसबाट बिचलित नहुन उहाँले उद्योगी, व्यवसायीलाई आग्रह गर्नुभयो ।कार्यक्रममा सशस्त्र प्रहरी बल प्रदेश नं. ५ का प्रमुख नारायणदत्त पौडेलले उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरी कटिबद्ध रहेको बताउनुभयो ।

निर्वाध रुपमा उद्योग धन्दा सञ्चालनका लागि सशस्त्र प्रहरीले औद्योगिक सुरक्षा समिति कार्य नीति–२०७० लाई आत्मसाथ गरी काम गरिरहेको पौडेलको भनाई थियो ।
भूमही–भैरहवा सडक खण्डमा बहुराष्ट्रिय उद्योगहरु छन् । ति मध्ये केहीले सार्वजनिक जग्गा अतिक्रमण गरी सरंचना बनाएका छन् भने केहीले व्यक्तिको जग्गाबाटै सडक र विद्युत लगेका छन् । उद्योगहरुबाट निस्कने फोहोर पानीका कारण पनि स्थानीय जनजीवन प्रभावित छ ।

जसका कारण स्थानीयहरुले उद्योगमा अवरोधगर्दै आएका छन् ।



सम्बन्धित
Loading...