द्वन्दकालका वेपत्ताका परिवारहरु भन्छन् अझै आउँछन् कि भन्ने आश लाग्छ
शोभा जिसी
नवलपरासी । माओवादी जनयुद्धका बेला वेपत्ता पारिएका परिवारहरु अझै पनि आफ्नो आफन्त घर फर्किएर आउँछन् कि भनेर आश गर्ने गर्दछन् ।
आफ्ना श्रीमान् छोरा वेपत्ता भएको १९ बर्ष नाघिसक्यो तर पनि आउँछन कि भनेर बाटो हेर्न भने छाडेका छैनन् ।

पूर्वी नवलपरासीमा मात्रै अझै २० जना वेपत्ता भएको तथ्यांक छ । आफ्ना आफन्त वेपत्ता भएको झण्डै दुई दशक हुन थाल्यो, माओवादी जनयुद्ध शान्ति वार्ता हुँदै सकियो, राजतन्त्रको अन्त्य भएर गणतन्त्र आयो, संविधान जारी भयो। तत्कालिन जनयुद्धका नेतृत्व गरेको जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्डले सत्ताको बागडोर सम्हाले तर उनीहरुको हराएका आफन्तहरु भने अझै भेटिएका छैनन ।
भनिन्छ लाश कि सास देख्न पाए मात्र यकिन हुन्छ भने झै न लाश देखे न सास छ कि नाई पत्तो छैन ।
माओवादीले बोडिङ्ग बन्द गरिदिए, सेनाले श्रीमान् लगे
https://www.youtube.com/watch?v=pm2hfMefws8&t=20s
गोर्खा पहाड घर भई हाल नवलपरासीको देवचुली नगरपालिका १० मा रहेको ईश्वरी न्यौपानेको श्रीमान तोयानाथ न्यौपाने वेपत्ता भएको १९ बर्ष नाघि सक्यो । ससाना छोराछोरीहरु ठूला भईसके आफ्नो आफ्नो गरेर खान सक्ने भईसके तर न्यौपानेको श्रीमानको अझै अत्तोपत्तो छैन ।
लाश नदेखुन्जेल आश हुन्छ भने झै श्रीमान आउँछन् कि भनेर बाटो हेर्ने क्रम उनको अझै रोकिएको छैन । कतै वेपत्ता परिवारका सम्बन्धमा कार्यक्रम भए हामफाल्दै पुग्छिन । कतै केही खबर पो आइहाल्छ कि भन्ने लाग्छ ईश्वरी न्यौपानेले भने ।
गोर्खाको राम शाह माविमा २५÷२६ बर्ष जागिरे जीवन विताएपछि अवकाश पाए पछि तराईमा घर बनाउन झरेका उनका श्रीमान तराईबाटै वेपत्ता भए ।
आफू सरकारी जागिरे र आफ्नो निजी विद्यालय समेत रहेको तोयानाथ न्यौपानेको निजी विद्यालय माओवादीले बन्द गराइदिएको थियो । शिक्षक पेशाबाट अवकाश पनि प्राप्त भएको र निजी विद्यालय पनि माओवादीका कारण बन्द भएपछि न्यौपाने तराई झरेका थिए ।
उनलाई देवचुली नगरपालिका १० मा २०५८ साल माग १ गते राति प्रगतिनगरको छत्तिस घरे चोकबाट सेनाले लगेको ईश्वरी न्यौपानेले बताए ।
सेनाले श्रीमानलाई गिरफ्तार गरेपछि गोर्खाको घरमा आउँने छापा मार्ने क्रम झन बढ्न थालेपछि उनी पनि तराई झरेको उनले बताए ।
र्ईश्वरी भन्छिन् पहिला पहिला जागिरे हुँदा पनि अन्य दिन घर नआउँनु भए पनि शुक्रबार घर आउनु हुन्थ्यो त्यसैले अझै पनि शुक्रबारका दिन कतै जानु भाछ कि घर आउँनु हुन्छ कि भन्ने लाग्छ ।
सेनाले गिरफ्तार गरेर कावासोती ल्याएको आफूले प्रत्यक्षदर्शीबाट थाहा पाएको भए पनि पछि खोजी गर्दा आफ्नो श्रीमान कतै नभेटिएको उनले बताए । ईश्वरीले श्रीमानको खोजी गर्न थालेको १९ बर्ष भयो तर अझै पनि श्रीमानको खोजी गर्न छाडेका छैनन् आश पनि मारेका छैनन् ।
कसले लगे पत्तो छैन, आउँछ कि भन्ने आश लाग्छ
https://www.youtube.com/watch?v=qZFU3_Cs7hU&t=7s
नवलपरासीको कावासोती २ फलफूल चोक निवासी यदुमाया पाण्डे न्यौपानेको पनि श्रीमान शिवराम पाण्डे वेपत्ता भएको झण्डै २० बर्ष पुग्यो । काखमा रहेको बच्चाहरु हुर्किए छोराछोरीका विवाह गरिदिने बेला भईसक्यो तर विहान ३ बजे पख घरबाट निस्केका उनका श्रीमान कहिलै घर फर्किएनन् ।
यदुमाया पाण्डेका अनुसार उनका श्रीमान ०५७ सालमा विहान ३ बजेतिर घरबाट चिवतनको घर जान्छु भनेर निस्केका हुन् । पाण्डेले भने विहान ३ बजेको थियो होला बाहिर होहल्ला थियो, मान्छेहरु बोलेका थिए, गाडीको आवाज सुनिएको थियो, श्रीमान् घरबाट निस्किए, मैले कहाँ जान थाल्नु भएको हो भनेर सोधें, उहाँले चितवनको घर जान्छु भनेर निस्कनु भयो । त्यसपछि आजसम्म फर्कनु भएको छैन ।
यदुमाया पाण्डेलाई आफ्ना श्रीमान माओवादीको पार्टी सदस्य नभए पनि माओवादी पार्टीमा आस्था राखेकै कारण राज्यपक्षले वेपत्ता पारेका हुन सक्ने आशंका गर्छिन तर यकिन भन्न सक्दिनन् ।
विवाह भएको सात बर्ष पछि श्रीमान वेपत्ता हुँदा उनलाई ६ महिना र २ बर्षका दुई छोरा र ४ बर्षकी एक छोरी हुर्काउन निक्कै समस्या भयो । यदुमाया भन्छिन् – चितवन घर जान्छु भनेर जानु भएको श्रीमान आउनु भएन ३÷४ दिनसम्म नआउँनु भएपछि घर आफन्त, साथीभाई इष्ट मित्रकोमा खोजियो तर पत्तो लाग्न सकेन ।
निक्कै लामो समयसम्म श्रीमान वेपत्ता भएको हो भन्ने उनले कल्पना समेत गरिनन् । श्रीमानको खोजी जारी राखे तर राज्य वा माओवादी पक्षले वेपत्ता पारेको हो भन्ने कतै आशंका पनि गरिनन् । यदुमाया भन्छिन् – जब मोबाइल फोन, इन्टरनेट, फेसबुकको जमाना आयो, त्यस पछि फेसबुकमा फोटो राखेर श्रीमानको खोजी गरे त्यपछि पनि नभेटिँदा वेपत्ता भएको भन्ने लाग्यो ।
२०६५ साल पछि मात्र उनले आफ्नो श्रीमानको नाम वेपत्ताको सूचीमा दर्ज गराएका छन् । उनी भन्छिन् – आफ्नै आँखा अगाडिबाट घर जान्छु भनेर निस्केका श्रीमान् राज्यले वेपत्ता पारेको हो वा माओवादी पक्षले पत्तो छैन त्यसैले कतै जानु भएको होला आउँनु हुन्छ जस्तो लाग्छ ।
छोराको खोजी गर्न अझै छाडेका छैनन्
https://www.youtube.com/watch?v=IwXrHKwbQFw&t=6s
त्यस्तै बाग्लुङका बसुन्धरा कंडेलका काइला छोरा तुलसी राम कंडेल कपिलवस्तुको भिडन्तमा हराएको झण्डै १५ बर्षभयो तर उनका आमा बसुन्धरा कंडेलले छोराको खोजी गर्न अझै छाडेका छैनन् ।
सशस्त्र प्रहरीमा जागिरे उनका छोराको छोराको नाम भिडन्तमा साहदत प्राप्त गर्नेमा नपरेपछि उनलाई छोरालाई माओवादीले कब्जामा लिएर गएकी भन्ने लाग्छ ।
कंडेलले भने – भिडन्त भएको ठाउँबाट फर्कने ठाउँ थिएन रे, मार्यो होला भन्ने लाग्छ त्यही पनि लाश नदेखेपछि आश हुँदो रैछ त्यसैले पत्तो लाग्छ कि भनेर खोज्दै छु ।
वाग्लुङबाट नवलपरासीको गैडाकोट माइत आएका बेला कावासोतीमा वेपत्ताका परिवारहरुबीच रेडक्रसले कार्यक्रम राखेको छ भन्ने थाहा पाएर उनी केही खबर पो पाइन्छ कि भनेर आएकी बताएन् । उनको यही कुराले पनि उनले अझै छोरा आउँछ कि भन्ने आश गरेको प्रष्ट हुन्छ ।