शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने कारखाना हैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न जीवन उपयोगी शिक्षाको आवश्यकता रहेको बताएका छन्।

चालिसौं राष्ट्रिय शिक्षा दिवस तथा त्रिपन्नौं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्ती ओलीले नेपालीका पूर्खाहरुले वैदिक काल देखि नै मान्यजन तथा विद्वत व्यक्तित्वहरुको सानिध्यमा कचहरी,धामिर्क सभा,गुरुकुल शिक्षा जस्ता संस्थाबाट शिक्षाको प्रचार गर्ने गरेको बताए। “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न विद्वान पुर्खाका सन्तान हामी नेपालीले फेरि ज्ञानगुन, जीवनउपयोगी शिक्षा र नवप्रवद्र्धनात्मक सोचको विकास गर्नु पर्नेछ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ।
शिक्षा प्रणालीलाई रोजगारमुलक र प्राविधिक बनाउनु पर्नेमा प्रधानमन्त्रीको जोड छ। “हाम्रा शिक्षण संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना हैन देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रका रुपमा हुनुपर्दछ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “ आधारभूत तहदेखि नै यही लक्ष्य हासिल गर्न सहायक हुने जनशक्ति तयार गर्ने पाठ्यक्रम लागू गरिनु पर्दछ।” प्रधानमन्त्री ओलीले आगामी दुईबर्षसम्म साक्षर नेपाल घोषणा गर्न सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरे।