घोषणा पत्रमा रहेका सबै काम मेरै कार्यकालमा पुरा गर्छुः उपप्रमुख तिवारी




पूर्वी नवलपरासीको देवचुली नगरपालिका बालमैत्री नगरपालिका हो। यो साविकको प्रगतिनगर गाविस रहँदा नेपालकै पहिलो खुल्ला दिशामुक्त गाविस र नेपालकै पहिलो बालमैत्री गाविस समेत घोषणा भएको थियो। यिनै देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी (जो देवचुली नगरपालिकाका न्यायिक समितिका संयोजक समेत हुन्) सँग देवचुली नगरपालिकाको न्यायप्रणाली, विकास, बालमैत्री वातावरण लगायतका विषयमा केन्द्रित रहेर शोभा जिसीले गर्नुभएको कुराकानीको सम्पादित अंश …. …. … …

 

पहिला म न्यायिक समिति तिर जान चाहे, उपमेयर जित्नु भएसँगै सोझै न्यायिक समितिको जिम्मेवारी पनि पाउनुभयो, न्याय मुर्तिको कुर्चीमा बसेर हेर्दा के पाउनुभयो, नगर भित्रको स्थिति ?



हाम्रो नगरपालिका सबै विषयमा अन्य नगरपालिकाभन्दा समृद्धि छ भनेर हामीले महसुस गरेका छौं। किन भन्दा हाम्रो नगरपालिकामा एकदमै मुद्दा कम आउँछ। गएको बर्ष हाम्रो नगरपालिकामा जम्मा २४ वटा मुद्दा मात्र आएको थियो ति मध्ये धेरै जसो घरबाटोको मुद्दाहरु थिए। केही श्रीमान श्रीमतिको बहुविवाहका मुद्दाहरुका आएका थिए। हामीले निरुपण गर्न मिल्ने र मेलमिलाप गर्नु पर्ने मुद्दाहरु निक्कै कम आएका छन र समाधान गरेर पठाएका छौं। न्यायिक क्षेत्रमा खासै जटिलता छैन हाम्रो नगरपालिकामा ।

चुनाव लडेर, राजनीतिक गरेर आएको मान्छे, न्यायदिने क्षेत्रको प्रमुखको जिम्मेवारी सम्हाल्नु पर्ने, कानुनका कुरा हुन्छन् अलि कता कता नमिले जस्तो लाग्दैन तपाईलाई यो विषय ?

त्यो त स्वभाविकै रुपमा हो । नगरपालिकामा न्यायिक समिति छ भने पछि फौजदारी मुद्दा, देवानी मुद्दादेखि सबै मुद्दाहरु आउँछ । सबै मुद्दासँग हामी ठोकिन्छौं। हामीले जुन क्षेत्र हेर्ने हो त्यो क्षेत्रको मात्र मुद्दा हामीले यहाँ लिन्छौं। फौजदारी मुद्दाहरुलाई जहाँ जानु पर्ने हो त्यहाँ जानु भनेर हामीले सल्लाहा सुझाव दिनेगरेका छौं। शुरुशरुमा हामीले गाउँसमाजमा जसरी मेलमिलाप गराउने गर्दथ्यौं त्यसरी नै मिलाउने गथ्र्यौं तर पछि गएर हामीले त्यो मुद्दाको रुपमा लिनु पर्छ भनेर अहिले जसले मुद्दा हालेको छ त्यसलाई जो प्रति हालेको छ त्यो प्रति प्रतिवादी लगाएर यसको पनि राय सुझाव के हो त नि भनेर उसको पनि उत्तर लिएर वैठकमा बोलाएर छलफल गराउने, पीडितलाई न्याय दिलाउने गरेका छौं। कानुनी समस्या छ, हामीले प्रदेश सरकारसँग बारम्बार नगरपालिकामा अधिकृत स्तरको एउटा कानुन विद राख्नु पर्छ सुझाव सल्लाहा दिएर माग पनि गरेका छौं। प्रदेश सरकारमा यस विषयमा छलफल पनि चलिरहेको छ। त्यस्तै अहिले यहाँ हरेक कानुनहरु बनाउँदा पनि दुई जना वकिललाई सल्लाहाकारको रुपमा राखिएको छ। उहाँहरुलाई हाम्रो नगरपालिकाको कानुन बनाउने बेलामा बोलाइन्छ।

तपाई पहिला महिलाको क्षेत्रमा पनि काम गरेको मान्छे, न्याय अन्यायका कुरा गर्दा न्यायिक समितिमा बसेर कुरा गर्दा देवचुली नगरपालिकाका महिलाहरु के विषयले बढी प्रताडित रहेछन् ?

खास गरेर श्रीमान श्रीमतिकै मेलमिलाप नहुने। जस्तो श्रीमान विदेश जाने, श्रीमति पहाड तथा गाउँघरबाट सहरबजार झर्ने श्रीमान् विदेशबाट फर्केर आउँदा श्रीमतिको हातमा बचत केही नहुने यो समस्या छ। यसमा धेरै कुरा नगरौं। धेरै छन समस्या महिलाहरुको तर सबै कुरालाई सकारात्मक रुपमा हेर्नु पर्छ । कतिपय महिलाहरुलाई काम गर्छु भन्दा भन्दै पनि अप्ठ्यारो परेको अवस्था पनि छ। समग्रमा भन्दा हाम्रो देवचुली नगरपालिकामा महिलाहरु अन्यायमा परेका छैनन्। एकाध दुई त भईहाल्छन् । बहुविवाहको खासै समस्या छैन। हुन त हाम्रो नगरपालिका बालमैत्री नजगरपलिको हो तर, पनि यहाँ बालविवाह अझै रोकिएको छैन, जसले गर्दा किशोरीहरुले विवाह गरेर २० बर्ष नपुग्दासम्म विवाह दर्ता गर्न नपाउने र उमेर नपुग्दै जन्मिएका बच्चाको जन्मदर्ता पनि गर्न नपाउँने समस्या छ। जसले गर्दा बच्चाहरु पनि अन्यायमा परेका छन भने आमाहरु पनि विवाह दर्ता गर्न नपाएर अन्यायमा परेका छन्। किन भने २० बर्ष नपुगेसम्म सफ्टवयरले पनि विवाह दर्ता गर्न मिल्दैन, लिदैन ।

बालमैत्री नगरपालिका भित्रै बालविवाह भने पछि बालमैत्री नगरपालिका हतारमा घोषणा भयो कि ?

होइन, बालमैत्री नगरपालिका हतारमा घोषणा गरेका होइनौं, ८० प्रतिशत सुचकहरु पुरा गरेर बालमैत्री नगरपालिका घोषणा गरेका हौं। हाम्रो नगरपालिकाको तराई क्षेत्रमा यस्तो समस्या छैन। पहाडी क्षेत्रका जनजाति बस्तीमा मगरहरुको समुदाय छ। त्यहाँ केटाकेटी बीचमै पढ्न छाड्ने अनि विवाह गर्ने समस्या छ। यसका लागि हामीले अभिभावक, किशोरकिशोरीहरु तथा विद्यालयहरुमा जनचेतनामुलक कार्यक्रमहरु लगेका छौं। यो पनि विस्तारै राकिन्छ।

म अब थोरै प्रसंग बदल्न चाहे, नगरपालिकाहरुले बनाउने कानुन संघीय र प्रदेश सरकारले बनाएको कानुनस“ग बाझिएका कुराहरु आउने गरेको छ, यहा के छ ?

संघीय सरकार र प्रदेश सरकारले कानुन निर्माणमा हस्तक्षेप गरेको छैन, स्थानीय सरकार पनि आफैमा स्वतन्त्र सरकार हो । कानुन बनाउन स्वतन्त्र छ। संघीय तथा प्रदेश सरकारले बनाएको कानुनमा नबाझिने गरी जस्तो पनि कानुन बनाएर चल्न सकिन्छ। जसले गर्दा बाझिएको भन्ने लाग्दैन। नेपालमा ३ तहको सरकार छ, बाझिने गरेर त कानुन बनाउन भएन। हामीले १९ वटा कानुनहरु बनाएर सक्यौ, जहाँसम्म लाग्छ सबै नबाझिने गरी बनाएका छौं। बाझिएका हकमा स्वतः खारेज अर्थात रद्द हुन्छ।

अब विकासका गतिविधितर्फ केन्द्रित हौं, तपाई निर्वाचित भएर आउनुभएको दुई बर्ष वितिसक्यो, भरखरै नगरसभा पनि सकिएको छ, त्यो नगर सभाले कस्ता कस्ता योजनाहरुलाई अगाडि सारेको छ?

नगरपालिकाले विभिन्न शिर्षकमा बजेटहरु विनियोजन गरेको छ। विकाश भनेको भौतिकपूर्वाधार निर्माण मात्रै विकास होइन, मानवीय विकास पनि विकास हो भन्ने हिसाबले हामीले नगरसभाबाट बजेट विनियोजन गरेका छौं। भौतिक पूर्वाधारमा मात्रै भन्दा पनि आयआर्जनको क्षेत्रमा पनि लगानी बढाउनु पर्छ भनेर स्वास्थ्य, शिक्षा, कृषि, पशु लगायत अरु मानवीय विकासका कार्यक्रमहरु पनि सञ्चालन गर्नु पर्छ भनेर त्यसरी नै बजेट विनियोजन गरेका छौं हामीले के अनुभव गर्यौं भने आर्थिक बर्षको अन्त्यमा कामको चाप हुने भएको हुँदा त्यो काम प्रभावकारी नहुने रैछ। त्यसैले हामीले कुन काम कहिलेसम्म सक्ने भनेर वडादेखि नै कार्ययोजना बनाएर समयमै सक्ने गरी बैशाखमै सक्ने गरी काम शुरु गरेका छौं। अब कार्ययोजनामाथि छलफल गरेर काम शुरु हुन्छ।

धेरै स्थानीय तहले सडक नै विकासको एक मात्र पूर्वाधार हो झै गरेर सडक तथा बाटो निर्माणमा बढी बजेट विनियोजन गर्ने गरेको छ। यहा के छ ?

हामीले पनि पहिलो बर्ष भौतिक पूर्वाधारमै खर्च गरियो, त्यसरी खर्च गर्दा हामीलाई त्यति प्रभावकारी लागेन। हामीले दोस्रो बर्षलाई खानेपानी बर्ष, तेस्रो बर्ष अर्थात यो बर्षलाई हामीले सिचाई बर्ष भनेर योजना बनाएर काम गरेका छौं। हामीले बाटोमा भन्दा पनि उद्यमशिलताको क्षेत्रमा ध्यान दिएका छौं। विकासको हिसाबले हामी एकदमै अगाडि छौं भन्ने लाग्छ। देवचुली डाँडालाई पदमार्गको रुपमा विकास गर्दैछौं।

पार्वता तिवारी देवचुली नगरपालिकामा उपप्रमुख भएर पाच बर्ष विताएर फर्कदा पार्वता तिवारीले यो काम गर्यो भनेर देखाउने काम के गर्ने छ?

हामीले चुनावको बेलामा जुन घोषणा पत्र बनाएका थियौं, त्यो सबै हामीले पुरा गर्नेछौं। मलाई मत दिनुहोस् मैले यो काम गर्नेछु भनेर जेजे घोषणा गरेर मैले मत मागें ति सबै काम मैले पुरा गर्नेछु। सुकुम्बासीहरुलाई हामीले तपाईहरुको हातहातमा जग्गाको लालपूर्जा पुराइदिन्छौं भन्ने जुन हाम्रो नारा थियो त्यसले मलाई एकदमै मनमा छोएको छ। हामीले संघीय सरकारसँग पटकपटक कुरा उठायौं अहिले सरकारले जो जहाँ बसेको छ उसलाई त्यही जग्गाको लालपूर्जा दिने भनेर विधयक पास गरेको छ। सकारात्मक कुरा आएको छ। त्यसकारणले त्यो पनि पुरा हुन्छ जस्तो लाग्छ। मैले चुनावको बेला जुन प्रतिबद्धता गरेका थिएँ । त्यही रफ्तारमा सबैलाई मिलाएर सम्बोद्धन गरेर काम गरेको छु भन्ने लाग्छ।

भने पछि तपाई या तपाईको पार्टीले अर्को पटक देवचुली नगरपालिकाको निर्वाचनमा जा“दा अघिल्लो पटकको घोषणा पत्रमा भएका कुनै पनि बुदा दोहोर्याउनु पर्दैन?

दोहोर्याउनु पर्दैन, एक चोटी बनाएको बाटो भत्किएला, ग्राभेब बगाउला, केही अन्य कुनै कारणले बनेका चिजहरु भत्किएला फेरि बनाउन पर्ने हो त्यो आफ्नो ठाउँमा भयो । हामीले देवचुली नगरपालिकालाई पाँच बर्ष भित्र साँच्चीकै समृद्ध बनाउने छौं। पर्यटकीय क्षेत्र, होम स्टे निर्माण, नगर चक्रपथ, वडावडामा बाटो पुर्याउने, सम्पूर्णलाई शुद्ध पिउनेपानी उपलब्ध गराउने, विजुली बत्ती पुर्याउने, सम्पूर्ण खेतीयोग्य जमिनमा सिचाई पुर्याउने सबै काम हामी पुरा गर्नेछौं।



सम्बन्धित
Loading...