आत्महत्या दुरुत्साहन गरेको भन्दै ६ महिना कैद
राधेश्याम खतिवडा
चितवन । आत्महत्या दुरुत्साहनको मुद्दामा जिल्ला अदालत चितवनले कैद फैसला गरेको छ । मुद्धा फैसला भएको घटनामा अदालतले मुख्य प्रमाणका रुपमा मृतक युवती र उनका श्रीमानबीच मोबाइलमार्फत भएका कुरालाई प्रमाणको रुपमा लिएको छ ।
२०७५ फागुन १३ गते चितवनको खैरहनी नगरपालिका वडा नम्वर २ मा एक युवतीले आत्महत्या गरेकी थिइन् । छोरीको आत्महत्या नभई आत्महत्या गर्न प्रेरित गरेको भन्दै माइती पक्षकी आमा दुर्गादेवी थापा बस्नेतले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले मुद्दामा एक आरोपितलाई ६ महिना कैद र अन्य तिन आरोपीतलाई सफाई दिएको छ । मुद्धा परेको ६ महिना पछि अदालतले यस मुद्दाको टुंगो लगाएको हो । यस घटनामा मृतकले कुनै सुसाइड नोटसमेत नबनाएको अदालतले जनाएको छ ।
२०७५ असारमा सन्जोग गिरी र विविता बस्नेतको भागी विवाह भएको थियो । बिहेपछि भदौमा सन्जोग रोजगारीका लागि दुवई गएका थिए । छोराबुहारीबीच फोनमा सन्देश, भिडियो संवाद हुने गरेको बुबा गोपाल गिरीले बताएका छन् । बिहेको केही समयपछि उनीहरुबीच झगडा सुरू भयो । विदेशमा रहेका श्रीमान् र विविताबीचको फोनको झगडाले गर्दा विविताले फागुन १३ गते घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन ।
अनुसन्धानको क्रममा श्रीमान श्रीमतीबीच भएको भिडियो र सन्देश आदानप्रदान प्रमाणका रुपमा लिइएको छ । दुवैजनाबीच सम्बन्ध नै टुंग्याउनेसम्मको झगडा भएको र आफ्नो परिवारले नस्वीकार्ने भन्दै श्रीमानले विदेशबाट भनेको पाइएको बताइएको छ ।
आत्महत्याका लागि प्रेरित गरेको मुख्य आरोपित रहेका सन्जोग गिरी विरूद्ध ६ महिना कैद, १ लाख क्षतिपूर्ति भराउने र ५ हजार जरिवाना गराउने फैसला भएको हो । आरोपीत सासू, ससुरा र देवरको हकमा भने सफाइ हुने गरी फैसला भएको चितवन अदालतका श्रेस्तेदार रूद्रमणि गिरीले जानकारी दिएका छन् ।
