‘तेल केन्द्रमा भएका आक्रमण युद्धको कदम’

वासिङ्टन। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले साउदी तेल खानी र प्रशोधन केन्द्रमा भएका आक्रमण ‘युद्धको कदम’ भएको टिप्पणी गरेका छन् । विदेशमन्त्री पोम्पेओले साउदी अरबसँग तिनको रक्षा गर्ने अधिकार भएको समेत बताएका छन् ।
अमेरिकाले गत शनिवार भएका आक्रमणमा इरानको संलग्नता भएको आरोप लगाउँदै आएको छ । ती आक्रमणमा प्रयोग भएका ड्रोन र क्रुज क्षेप्यास्त्रका भग्नावशेष देखाउँदै साउदी सरकारले इरान नै दोषी भएको आरोप लगाएको छ । ती आक्रमणको कसरी प्रतिक्रिया दिने भनेर अमेरिकासँग धेरै विकल्प भएको ट्रम्पको भनाइ छ ।
साउदी राजकुमार मोहमद बिन सलमानसँगको भेटेपछि पोम्पेओले इरानका कदमहरू असह्य भएको बताए । इरानको सन्दर्भमा माइक पोम्पेओ निकै आक्रामक देखिन्छन् । उनी राष्ट्रपति डोनल्ड ट्रम्पभन्दा पनि कठोर विचार राख्ने गर्छन् । बुधवार साउदीको जेद्दामा अवतरण गरेलगत्तै उनले शनिबार भएको आक्रमणलाई युद्धसँग तुलना गरेका थिए ।
पोम्पेओले शनिबारको घटनाले विश्वव्यापी इन्धन आपूर्तिलाई जोखिममा पारिदिएको बताए । साउदी अरबलाई तेल र ग्याँस उत्पादन कटौती गर्न बाध्य हुनेगरी भएका आक्रमणमा १८ वटा ड्रोन र सातवटा क्षेप्यास्त्र हानिएको साउदी रक्षा मन्त्रालयले जनाएको छ । इरानको समर्थन प्राप्त यमनका हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिएका छन् । तर, साउदी अरबले ती हतियार यमनबाट नभई अन्यत्रबाटै आएको दाबी गरेको छ ।
पत्रकार सम्मेलनमा साउदी रक्षा मन्त्रालयका प्रवक्ताले आक्रमण उत्तर दिशाबाट भएका र तिनलाई ‘निःसन्देह इरानले प्रायोजित गरेको’ दाबी गरे । इरानले भने साउदीमाथि भएको सो हमलामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेको छ ।
साउदी अरबको सैन्य ब्रिफ्रिङमा चार्ट र आक्रमणमा प्रयोग गरिएका सामग्रीको भग्नावशेष प्रयोग गरिएको छ । यद्यपि त्यसले आक्रमणबारे रहेका प्रश्नको उत्तर नसमेटेको बताइएको छ ।
यमनमा विद्रोह गरिरहेको हुथी समूहले आफ्नो संलग्नताबारे अस्वाभाविक दाबी गरेको तर्क गर्दै पोम्पेओले तिनको अस्त्र भण्डारमा हुँदै नभएको अस्त्र साउदी अरबविरुद्ध प्रयोग भएको बताएका छन् । उनले भने, ‘यदि हुथीहरूको मिथ्या दाबी’ सत्य नै हो भने पनि त्यसले संसारभरि इन्धन आपूर्तिलाई जोखिममा पार्ने इरानका नेतोआयातोल्लाहको संलग्नता फेरिँदैन ।’
इरानले पछिल्लो आरोपबारे भने आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । तर, उसले आफ्नो संलग्नता अस्वीकार गर्दै आफूलाई आक्रमण गरिए प्रतिकार गर्ने चेतावनी दिएको छ ।