तराईमा आज जितिया पर्व मनाउँदै




तराईका बिभिन्न ठाउँमा आज जितिया पर्व मनाईंदैछ । मैथिली र थारु समुदायका महिलाले विशेष रुपमा मनाउने जितियाको मुख्य विधि भने सोमबारदेखि नै सुरु भएको छ । तीन दिनसम्म मनाइने जितिया पर्वको पहिलो दिन सोमबार नजिकका जलासयमा गएर स्नानगरी पितृलाई तेल, खैर चढाएका छन् ।  सन्तानको दीघार्यु र सुस्वास्थ्यको कामना तथा  शिशुलाई मृत्युबाट जोगाउन  विशेष गरी यो पर्व मनाइन्छ ।
आश्विन कृष्णपक्षको सप्तमीदेखि सुरु हुने जितिया पर्व नवमीसम्म मनाउने धार्मिक परम्परा रहि आएको  छ । तराईका महिलाले उपवास र प्राचीन प्रक्रिया अनुरुप पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ । शाकाहारीले बिहानै नुहाएर गम्हरी अर्थात कोसाभित्रै फल्ने धानको खीर वा भात पनि खाने चलन छ । ब्रतालुले नजिकको पोखरी, तलाउमा नुहाई भगवान् सूर्यलाई अर्घ अर्पण गर्छन् । झण्डै ३० घन्टाको निराहार उपवासका क्रममा ब्रतालुहरुले आफ्नो मुखले सिन्कोसम्म टोक्नु हुन्न । भूलवश सिन्को टोकियो वा मुखबाट पानी पनि आयो भन्ने ब्रतालु आजीवन ब्रत बस्न नपाउने र ब्रत भंग हुने मान्यता मिथिला क्षेत्रमा रहिआएको छ ।
थारु महिलाहरुले जितियाको अघिल्लो राति ओटघन (दर) खाई ब्रत बस्ने गर्दछन । उनीहरु आजका दिन पानी पनि नपिई दिन भर ब्रत बस्ने गर्दछन् । ब्रत बसेको दिन उनीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका हुन्छन । विशेष गरी यो दिन उनीहरु जितमहानको कथा सुन्ने गर्दछन ।
त्यसपछि ब्रतको सङकल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । विवाहित महिलाले आफ्ना सन्तान र पतिको सुखशान्तिको कामना गर्दै निराहार बसी तीन दिनसम्म यो पर्व मनाउने गर्छन् ।
जितिया पर्वलाई दसैँ आगमनको सङकेतका रुपमा पनि लिइन्छ । कतिपय महिलाले यस पर्वमा पुर्खालाई समेत पूजा गर्ने गरेको पाइन्छ ।



सम्बन्धित
Loading...