बाघको छालासहित चितवनमा तीन जना पक्राउ




चितवन, असोज ८-

चितवन प्रहरीले प्रतिबन्धित बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।




जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको विशेष टोलीले मंगलबार बेलुका नारायणगढको पुलचोकबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–७ ईट्टाभट्टी बस्ने दिपक भन्ने चिरञ्जीवी सेन ठकुरी, जिल्ला पाल्पा निस्दी गाउँपालिका–२ सहलकोट बस्ने चुमबहादुर राना र जिल्ला वाग्लुङ ढोरपाटन नगरपालिका–९ बस्ने हिम साङ्वो गौचन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोली आफै ग्राहक बनी उनीहरुसँग उक्त छालाको करिब २५ लाख रुपैयाँमा मोलमोलाई गरिरहेको अवस्थामा झोलामा लुकाएर ल्याएको नेपालमा संरक्षित एवम् संकटान्मुख वन्यजन्तु बाघको दाँतसहितको छाला तीन थानसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त छाला निजहरु तीन जना मिले बाग्लुङको ढोरपाटन–९ बोबाङ शेराबाङबाट बेचबिखनको लागि ल्याइएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बरामद उक्त बाघको छाला र पक्राउ मानिसलाई आवश्यक कानुनी कारबाही तथा अनुसन्धानको लागि डिभिजन वन कार्यालय चितवनमा बुझाइएको छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतीको व्यापार नियन्त्रण अन्तर्राष्ट्रिय महासन्धिको अनुसूचि १ मा उल्लेखित भए अनुसार बाघ दूर्लभ एवम् संकटान्मुख वन्यजन्तुमा पर्छ ।



सम्बन्धित
Loading...