चितवनमा भएको बस दुर्घटनामा ३८ जना घाइते
गएराति चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
काठमाडौंबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो। घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ।
यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन्। बसमा करिब ४५ जना सवार रहेको थियो। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

