चिनियाँ राष्ट्रपति सी शनिवार नेपाल आउने
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति तय भएको छ। नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार सीको राजकीय भ्रमण अक्टोबर १२ र १३ अर्थात् आगामी शनिवार र आइतवारका लागि तय गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी नेपाल आउन लागेका हुन्। सङ्घीय राजधानी काठमान्डूमा भ्रमणको तयारी तीव्र बनाइएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ।
At the friendly invitation of the Rt. Hon. President of Nepal, the President of the People's Republic of China H.E. Mr. Xi Jinping is paying a state visit to Nepal on 12 and 13 October 2019. Press release. @PradeepgyawaliK @bairagi_shanker @PaudyalBR https://t.co/F1bOtvqdcF
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 9, 2019
काठमाण्डूमा रहँदा चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डल सहित वार्ता गर्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा बताइएको छ। जसलगत्तै दुवै नेताको उपस्थितिमा केही द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ।
राष्ट्रपति सी नेपाल आउनुअघि ११ र १२ अक्टोबरमा भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक वार्ताका लागि रहनेछन्। जसको मिति समेत आज नै घोषणा गरिएको थियो।
राष्ट्रपति तहमा पछिल्लो पटक सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रणम गरेका थिए।
परराष्ट्र मन्त्रालय र नेपाल तथा चीनको सम्बन्धबारे लेखिएका कतिपय पुस्तकहरू अनुसार सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्ध स्थापित भएदेखि हालसम्म, दुई जना राष्ट्रपति, पाँचजना प्रधानमन्त्री र पाँचजना उप-प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छन्।
नेपालबाट भने त्यसबेलादेखि हालसम्म राजा, राष्ट्रपति र प्रधानमन्त्री तहमा दुई दर्जनभन्दा बढी पठक चीन भ्रमण भइसकेको छ।
उपराष्ट्रपति र उपप्रधानमन्त्री तहमा पनि धेरै पटक भ्रमण भएको परराष्ट्र मन्त्रालयको विवरणमा देखिन्छ।


