हिमालय सीमापार रेलको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा


राष्ट्रपति सीद्वारा शीतल निवासमा द्विपक्षीय वार्ताका क्रममा सम्बोधन गर्नु हुँदै


नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् ।

दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौं आएका राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रीभोज आयोजना गरेकी थिइन् ।




शीर्ष नेताहरुको उपस्थिति रहेको रात्रीभोजलाई दुवै राष्ट्रपतिले सम्बोधन गरेका थिए । पहिले सम्बोधन गरेकी भण्डारीले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको नेपाली जनताले देख्न चाहेको बताएकी थिइन् ।

त्यसपछि सम्बोधन गरेका राष्ट्रपति सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताए । उनले रसुवागढी-छहरे-काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तरोन्नती गर्ने पनि बताए । उनले भने-मलाई आशा छ, दुई देशबीच सुविधाजनक कनेक्टिभिटी सञ्जाल निर्माण हुनेछ ।

आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तामा यसबारे औपचारिक सहमतिमा हस्ताक्षर हुने बताइएको छ । राष्ट्रपति सीले ल्याण्डलक्ड नेपाल अब ल्याण्डलिङ्क्ड हुनेसमेत बताए ।

चिनियाँ राष्ट्रपति सीले नेपाल-चीन सम्बन्धमा कुनै समस्या नरहेको, मित्रतामात्र रहेको पनि बताए । नेपाल आउँदा पुराना तथा नयाँ साथीहरुसँग भेट भएको भन्दै उनले भने-आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।

नेपाली नेतासँग मिलेर दुई देशको सम्बन्धको नयाँ खाका कोरेको भन्दै सीले भने- हामीले बनाएको योजना पूरा गरौं, चीनमा पनि हामीले यस्तै गर्दै आएका छौं ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र आफूबीच चुनौती र कठिनाइको सामना गर्ने र विकास तथा समृद्धितिर जान सहकार्य गर्ने सहमति भएकोसमेत जानकारी दिए ।

सीले नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई नेपालमा जान उत्प्रेरित गर्ने पनि बताए । साथै जलवायुबारे नेपालको चासोको समर्थन गर्ने र हिमालय क्षेत्रको रक्षामा सहयोग गर्नेसमेत सीले बताएका छन् ।



सम्बन्धित
Loading...