पत्रकार बोहराको उपचारका लागि पत्रकार महासंघ पश्चिम नवलपरासीको १० हजार सहयोग
हरि शर्मा –
परासी, २९ असोज: पत्रकार अर्जुन बोहराको उपचारका लागि नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाले १० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएको छ । पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्षसमेत रहेका बोहराको मस्तिष्क घात भई काठमाण्डौं बाँसबारीस्थित न्यूरो अस्पतालको आइसीसीयूमा उपचार भइरहेको छ ।
दुर्गम जिल्लाबाट पत्रकारिता गरिरहेका बोहराको आर्थिक अवस्था कमजोर रहेकाले सहयोगका लागि महासंघ केन्द्रीय समितिले अपिल गरेपछि रकम उपलब्ध गराएको जिल्ला शाखा अध्यक्ष हरि शर्माले बताए ।
जिल्ला शाखाले स्थानीय तहको आर्थिक सहयोगमा सञ्चालन गरेका पत्रकार क्षमता अभिवृद्धि तालिमहरुबाट बचत भएको कोष रकमबाट सहयोग उपलब्ध गराएको अध्यक्ष शर्माले जानकारी दिए । उक्त रकम पत्रकार बोहराको दाजुको बैंक खातामा पठाइएको शाखाले जनाएको छ ।

