निर्वाचन परिणाम घोषणाको समयमा डण्डाको साना किसानमा तोडफोड
अध्यक्षमा नेकपाका प्यानलका हरि बस्नेत निर्वाचित
नवलपरासी, २९ असोज ।
नवलपरासीको कावासोती १६ डण्डामा रहेको साना किसान कृषि सहकारी संस्थाको निर्वाचन मण्डलको कार्यालयमा तोडफोड भएको छ ।
साना किसान सहकारीको बुधबार अधिवेशन तथा साधारण सभा रहेकोमा अध्यक्षमा नेकपाका उमेद्वार हरिबहादुर बस्नेत निर्वाचित भएपछि तोडफोड भएको हो ।
निर्वाचन मण्डलका भीम श्रीपालीका अनुसार केही समूह आएर एक्कासी तोडफोड गरिएको हो । निर्वाचन परिणाम आएपछि केही समूह एक्कासी प्रवेश गरेर तोडफोड गरेको हो ।
हरि बस्नेत विजयी
साना किसान कृषि सहकारी संस्था अग्यौलीको अध्यक्षमा हरिबहादुर बस्नेत बिजयी भएका छन् ।१३ मत मध्ये ७ मतले बस्नेत बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी निवर्तमान अध्यक्ष प्रेमबहादुर बस्नेत मात्र एक मतले पराजित भए ।
संस्थाको उपाध्यक्षमा सारदा पाण्डे बिजयी भइन् । पाण्डे सर्वसम्मत निर्वाचित भएकी हुन् । ४ हजार एक सय ५ सदस्य रहेको संस्थामा यसअघि विभिन्न समुहबाट प्रतिनिधि छनौट गरिएको थियो ।
अधिवेशनमा सदस्यलाई भत्ता मात्रै २ लाख ५२ हजार वितरण
साना किसान सहकारीको आठौं अधिवेशन तथा २३ औं साधारण सभामा भत्ता मात्रै २ लाख ५२ हजार बाडिएको छ ।
बुधबार भएको अधिवेशन तथा साधारण सभामा प्रति सदस्य ५ सयको दरले ४ हजार १ सय ५ जना सदस्यलाई २ लाख ५२ हजार भत्ता वितरण गरिएको थियो ।
उक्त सहकारीले अहिलेसम्म प्रति शेयर १ सयको दरले २ लाख ५५ हजार ९ सय ७३ कित्ता शेयर विक्री गरेको छ ।



