डडेल्धुराको भित्री मधेस दुधमा आतमानिर्भर बन्दै




दिपकराज भट्ट् –
डडेल्धुरा । डडेल्धुराको भित्रिमधेश क्षेत्रमा उत्पादन हुने दुग्ध उत्पादन पछिल्लो समयमा व्यवस्थित हुँदै गइरहेको छ । परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका विभिन्न समुदायमा उत्पादन हुने गरेको दूधको व्यवस्थित बजारीकरण पश्चात किसान तथा दूध संकलकहरुले राहत महसुस गरेका हुन् । यस क्षेत्रमा व्यक्तिगत एवं सामूहिक रुपमा उत्पादन गरिएका दूध संकलन गर्नको लागि परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा विगत ३ वर्षदेखि ४ वटा दुग्ध संकलन केन्द्र सञ्चालन भएकोमा यो वर्ष थप २ स्थानमा दुग्ध संकलन केन्द्र स्थापना भइ जम्मा ६ वटा दुग्ध संकलन केन्द्र सञ्चालनमा रहेका छन् ।
करिब २५० घरधुरीले उन्नत जातका गाइभैसी पालन गरी दुग्ध उत्पादन सुरु गरेकोमा हाल प्रत्येक दिन २५०० देखि तीन हजार लिटरको हाराहारीमा दूध संकलन हुने गरेको छ। गाइपालन तथा दूध संकलन केन्द्र सञ्चालनका लागि मर्सिकोर नेपाल, नेपाल रेडक्रस सोसाइटी, एकिकृत विकास समाज र तत्कालिन जिल्ला पशुसेवा कार्यालय, डडेल्धुराको आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइएको हो ।
करिब ७ वर्ष पहिले ६ वटा समुदायबाट सुरु गरिएको उन्नत गाइभैसी पालन अहिले यस क्षेत्रका करिब २५ समुदायमा फैलिएको छ भने यहाँ उत्पादन गरिएको दूध यस क्षेत्रमा मात्र नभइ छिमेकी कैलालीको विभिन्न डेरीमार्फत बजारसम्म पुग्ने गरेको गोदाम संकलन केन्द्रका सञ्चालक जयबहादुर बोहराले बताए ।
दूध संकलनलाई व्यवस्थित गर्नका लागि मर्सिकोर नेपाल, एकिकृत विकास समाज, पशु अस्पताल तथा विज्ञ केन्द्र, स्थानीय वडा, गाउँपालिका तथा नगरपालिका, पशु विकास शाखा तथा अन्य संघसंस्थाहरुले सहयोग गरिरहेको उनको भनाइ छ । दुग्ध संकलन केन्द्रमा संकलन भएको दूध कैलालीमा रहेका खप्तड डेरी तथा दुग्ध विकास संस्थानले खरिद गर्ने गरेको उनले जानकारी दिए।




हाल भित्री मधेस क्षेत्रको आलिताल गााउँपालिका वडा नं.६ को धिमडा, वडा नं. ४ घरेलु बजार, वडा नं. ८ को गोदाम बजार र मौरी बजार, परशुराम नगरपालिकाको वडा नं.१० गाईबाधे र वडा नं.१२ को तुलाभाडीमा दुग्ध संकलन केन्द्रले दैनिक किसानहरुको दूध संकलन गरिरहेको छ ।
निकट भविष्यमै आलिताल गााउँपालिकाको वडा नं.७ भाडीमा पनि दुग्ध संकलन केन्द्रको स्थापना गरिने जनाइएको छ । यसले यस क्षेत्रका दुग्ध उत्पादन किसानहरुलाई थप सहज पुग्ने अपेक्षा लिइएको छ ।

यस क्षेत्रमा उत्पादन हुने दूधको सहज आपूर्तिको लागि आलिताल गाउँपालिका, युनडिपी, सिड्स नेपाल, मर्सिकोर नेपाल, एकिकृत विकास समाज, दुग्ध विकास संस्थानको साझेदारी तथा संयुक्त लगानीमा ६ हजार ५ सय लिटर क्षमताको दूध बोक्ने टयांकर खरिद प्रक्रिया अगाडि बढाइएको छ ।

दूध बोक्ने टयांकर खरिद गरिएपछि जुनसुकै सिजनमा पनि किसानको दूध बिक्रि हुनेमा आफू ढुक्क रहेको आलिताल गाउँपालिका–५ का किसान कलावती नाथले बताइन् । किसानहरुको हकहितका लागि विभिन्न निकायसंगको साझेदारीमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक दूध टयांकर खरिद गर्न लागिएको आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए ।



सम्बन्धित
Loading...