पार्टीलाई आफ्नैबाट खतरा: प्रचण्ड
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई बाह्य तत्त्वबाट खतरा नभएको बताएका छन्।
उनले परिवर्तनका लागि लडेका राजनीतिक दलहरूबाटै यस्तो खतरा रहेको उनले बताएका छन्। चितवनमा बिहीबार दशैं, तिहार, छठ लगायतका पर्वहरूको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले पार्टीभित्रका स्वार्थी तत्त्व र गुटका कारण नेताहरूले जनताबाट आफूलाई टाढा लैजानाले परिवर्तन खतरामा रहेको बताएका हुन्।
उनले कम्युनिस्ट पार्टी सत्तामा पुगेपछि आदर्श र जनताबाट अलग्गिने विश्वव्यापी रोगले नेपालमा पनि खतरा रहेको बताएका हुन्। प्रचण्डले कम्युनिस्ट पार्टीका नेताहरू सत्तामा नपुग्दासम्म जस्तोसुकै त्याग, बलिदान गर्न तयार हुने तर सत्तामा गएपछि ती कुरा बिर्सँदै जाने भएकाले समस्या भएको बताए।
उनले पार्टी सत्तामा पुगेपछि व्यक्ति र पार्टीभित्र अराजकता र गुटले गर्दा समस्या पैदा हुने बताए। दुईतिहाइ जनमत पार्टीभित्रको एकता प्रदर्शन गरेर नै प्राप्त भएको भन्दै प्रचण्डले अराजकता र अस्तव्यवस्तता कायम रहेमा परिवर्तन उल्टिने डर पैदा भएको बताए। चितवनमा नै एक नेताले अर्को नेतालाई तेजोवध गर्ने प्रवृत्ति नेकपाभित्र मौलाएको प्रचण्डको भनाइ थियो। उनले नेकपाका नेताहरू नै चितवनमा भिडेपछि बाह्य तत्त्व पनि खेल्नका लागि चितवन आएको बताए।
केही पहिले भएको उद्योग वाणिज्य संघको निर्वाचनमा चितवनमा नेकपाका उम्मेदवार हारेको प्रति प्रचण्डको असन्तुष्टिको संकेत थियो। प्रचण्डले भने, ‘चितवन देशभरीका अराजकतावादी खेल्ने ठाउँ त बन्ने होइन भन्ने चिन्ता लागेको छ। चुनाव भयो भने कम्युनिस्ट पार्टीका नेताहरू नै मिलेको देखेको छैन। कसरी एकले अर्कोलाई तेजोबध गर्ने भन्ने देखिएको छ।’ अराजकता फैलाउनेलाई चितवन नेकपाका नेताहरू नै ताली बजाएर हिँड्ने गरेको आफूले सुनेको प्रचण्डले भने। उनले चितवन जिल्लालाई अराजक बनाउन सकियो भने त देशभरीमा अराजकता फैलाउन सकिएला भन्नेहरूलाई त्यस्ता क्रियाकलापले बल पुगेको बताए।
