२३ लाख भन्दा बढी अवैध नेपाली नोटसहित पाँच पक्राउ

भारतबाट नेपालतर्फ २३ लाख ५० हजार अवैध नेपाली नोट लिएर आउँदै गरेको समयमा फेरि पर्सामा २ भारतीयसहित ३ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । पाँच लाख अवैध नेपाली नोटसहित एक भारतीय पक्राउ परेको तीन दिन बित्न नपाउँदै फेरि पर्सामा यत्रो अवैध नेपाली नोट सहित ५ अभियुक्त पक्राउ परेका हुन्।
उनीहरु मध्ये २ भारतीय र ३ नेपाली रहेको पर्सा प्रहरीले जनाएको छ। पक्राउ पर्नेमध्ये भारतको पूर्वी चम्पारण थाना सुगौली वडा नम्बर ८ का ४६ बर्षीय गोपाल प्रसाद अग्रवाल र भारत रामगढवा थाना ग्राम रामगढवा बस्ने ६० बर्षीय सकिर मिया रहेका छन्। त्यसैगरी नेपालतर्फका बाराको खटुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ अहिर्वाटोलका ३२ वर्षीय वीरेन्द्र साह, बारा गढिमाई गाउँपालिका वडा नम्बर २ दौरुवाटोलका २६ बर्षीय सनि जैसवाल र वीरगन्ज महानगरपालिका वडा नम्बर १४ का २५ वर्षीय मन्टु कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्र शाहीले बताए।
पक्राउ परेका अभियुक्तमध्ये भारतका अग्रवालको साथबाट ९ लाख, मियाको साथबाट ५ लाख बरामद भएको छ। त्यसैगरी बाराका वीरेन्द्र साहको साथबाट २ लाख ५० हजार, जैसवालको साथबाट पनि २ लाख ५० हजार र वीरगन्जका मन्टु कुमार साहको साथबाट ४ लाख ५० हजार स्रोत नखुलेको नेपाली नोट फेला परेको उनको भनाइ छ।