अग्रता जोगाउन नसक्दा नेपालको बराबरी
काठमाडै : दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीमा रहेको नेपाली यू–२३ टिमले कतारको दोहामा म्यानमारविरुद्ध खेलेको मैत्रीपूर्ण खेलमा २–२ गोलको बराबरी गरेको छ।
नेपाली यू २३ टोलीले दुई पटक लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा चित बुझाउन बाध्य भयो। नेपालका लागि अनन्त तामाङ र रेजिन सुब्बाले समान एक–एक गोल गरेका थिए। म्यानमारका लागि दुवै गोल ल्विन मोइ औङले संभव बनाए। नेपाललाई अग्रता दिलाउने क्रममा अन्तत तामाङले दोस्रो मिनेटमै गोल गरेका थिए।
कप्तान सुजल श्रेष्ठको कर्नरमा अनन्तले आकर्षक हेडमार्पmत नेपाललाई अग्रता दिलाए। तर, ४० औं मिनेटमा ल्विनले गोल फर्काएपछि पहिलो हाफमा नेपाल १–१ को बराबरी रोकियो। दोस्रो हाफमा नेपालले पुनः अग्रता लियो। नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका रेजिन सुब्बाले ६० औं मिनेटमा गोल गर्दै नेपाललाई दोस्रोपटक अग्रता दिलाएका थिए। तर उनको गोलको अग्रतालाई पनि म्यानमारले धेरै समय टिक्न दिएन। ६४ औं मिनेटमा ल्विनले फ्रिकिकमार्फत गोल गर्दै खेललाई पुनः बराबरीमा पुर्याए। नेपाल सागको साविक विजेता भएकाले योपटक घरेलु मैदानमा लगातार दोस्रो जितको खोजिमा रहेको छ। सन् २०१६ मा भारतमा भएको सागको १२ औं संस्करणको फाइनलमा आयोजक टोलीलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो।
टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सागमा ३ सिनियर खेलाडी राख्न पाउने प्रावधान अनुसार विक्रम लामा, सुजल श्रेष्ठ र नवयुगलाई टोलीमा समेटेका थिए। विदेशी लिग खेल्ने राष्ट्रिय टोलीका स्टारत्रय गोलकिपर किरण चेम्जोङ, रोहित चन्द र विमल घर्तीमगरलाई भने यसपटक भ्रमणमा राखिएको थिएन।
किरण भारत, रोहित इन्डोनेसिया र विमल माल्दिभ्स क्लबमा आबद्ध छन्। सिनियर ५ खेलाडीमध्येबाट ३ खेलाडी सागका लागि पर्ने सम्भावना रहेको छ।
