मौलिक संवत ‘नेपाल संवत’




नेवार समुदायले भन्ने न्हूदँया भिंन्तुना अहिले अधिकांश व्यक्तिको जनजिब्रोमा आइसकेको छ । नेपाली रूपमा यसको अर्थ नयाँ वर्षको शुभकामना हुन्छ । नेपाल संवत फेरिने दिनलाई न्हूँ दया भिन्तुना भन्ने गरिन्छ ।

राष्ट्रिय संवतको रूपमा मान्यता पाएको भएता पनि अझै पनि नेपालमा नेपाल संवतको बारेमा थाहा पाउने कमै छन् । आफ्नै अस्तित्व र पहिचान बोकेको नेपाल संवत् विदेशी तिथि मितिका कारण ओझेलमा परेको छ ।




नेपाली इतिहासको फरक–फरक कालखण्डमा चलेका विभिन्न संवत्हरूमध्ये कान्तिपुरका राजा राघवदेवको शासनकालबाट चलेको यस संवत्को पृथक महत्व छ ।

भारत उज्जैनका राजा विक्रमादित्य द्वितीयले ल्याएको विक्रम संवत् होस या यशु ख्रिष्टको जन्मदिनका दिन मनाइने ईश्वी संवत या बुद्ध संवत, ल्होसार संवत, माघी संवत, मानदेव संवत, शाके संवत आदि संवतहरू नै किन नहोस । यी सबैमा संवत चलाउने वा राजाको नामबाट नै संवतको नामाकरण गरिएको छ ।

तर, लिच्छिवीकालीन युगदेखि आएको भएता पनि यो संवतलाई नेपाल संवतको नाम दिईएको छ । यो संवतले कुनै व्यक्ति विशेषको नाम नसमेटी पुरै जनताको प्रतिनिधित्व गरेको छ ।

अनेक घटना र परिघटनासँगै २००७ सालमा राणाशासनको अन्त्य भयो भने २०४६ सालमा जनताकै प्रयासले पञ्चायती व्यवस्था हट्यो । यसैगरी २०६२/२०६३ को १९ दिने जनआन्दोलनले राजाको निरंकुशतन्त्रलाई घुँढा टेकायो र गणतन्त्र नेपालको बाटो निर्माण ग¥यो ।

देशको स्वाभिमान र राष्ट्रियताकै अस्तित्व संकटमा परेका बेला नेपाल संवत्जस्तो राष्ट्रियतालाई एक पार्ने संवतको आवश्यकता छ ।

राष्ट्रिय संवतको नाम पाएको नेपाल संवतलाई पनि वर्तमान संवतको ठाउँमा राख्नुपर्ने देखिन्छ । हुन त यसको थालनी भने भइसकेको छ । कति भित्तेपात्रोमा त यसको प्रयोग द्रुत गतिमा भइरहेको छ ।

मल्लकालबाट जन्मिएको नेपाल संवतले मल्लकालमा ८८८ वर्ष लामो समयसम्म सरकारी मान्यता पाएको थियो । पछि शाह वंशीय राजा पृथ्वी नारायण शाहले यसलाई सरकारी मान्यताबाट हटाई शाके संवतलाई राष्ट्रिय संवत बनाएको विभिन्न इतिहासकारको भनाइ छ ।

जसरी गणतन्त्र नेपाल कसैको अधीनमा छैन । त्यसरी नै कुनै व्यक्ति विशेषको नाम तथा धर्मसँग नेपाल संवत जोडिएको छैन । यद्यपि, राष्ट्रिय विभूति शंखधर साख्वाःको नामबाट यो संवत आएको भएता पनि शंखधरको नामभन्दा व्यक्तिहरू नेपाल संवत भन्न बढी रुचाउँछन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले तत्कालीन नेपाल अर्थात कान्तिपुरमा ऋण मोचन तथा आर्थिक व्ययभार हटाउन अतुलनीय योगदान दिई नेपाल संवतको सुरुआत गराएको मान्यता छ ।

यस्तो छ इतिहास

भाषा वंशावलीमा उल्लेख भएअनुसार देशमा ठूलो आर्थिक बिपत्ति आइरहेका बेला भक्तपुरका राजा आनन्ददेव प्रथमले ज्योतिषीहरूको सल्लाहबमोजिम काठमाडौंका भद्रमती र विष्णुमती नदीको संगम लखुतीर्थमा भरियाहरूलाई बालुवा लिन पठाएछन् ।

काठमाडौंमा राजा राघवदेवले राज्य गरिरहेका बेला भक्तपुरदेखि बालुवा लिन लखुतीर्थमा शुभ साइत हेरेर पठाउनुमा केही रहस्य भएको शंका लागि काठमाडाैं मरू निवासी शंखधर साख्वाः नाम गरेका व्यापारीले राजाले पठाएका भरियालाई प्रलोभन देखाई शुभ साइतको बालुवा आफ्नै घरमा खन्याउन लगाई, साइतविना नै निकालिएको बालुवाचाहिँ राजाकोमा पठाए ।

साख्वाःको घरमा खन्याइएको सबै बालुवा सुनमा परिणत भयो । उता राजाको दरबारमा पठाइएको बालुवामा सुन भएन । तर, पिँधमा सानासाना सुनका कणहरू रहेकाले थोरै मात्र सुन पाएको विश्वास गरिएको थियो भन्ने ऐतिहासिक मान्यता रहेको छ ।

यसरी चलाखीबाट धनी हुन सफल भएका शंखधर साख्वाःले त्यो धन आफ्नो व्यक्तिगत खर्च नगरी देशभरका सम्पुर्ण ऋणको दलदलमा फसेका जनताको ऋण चुक्ता गराई जनतालाई स्वतन्त्र बनाएको प्रसंग नेपाली समाजमा छ ।

भाषा वंशावलीका अनुसार जनताको ऋण तिर्न सफल भएका व्यापारी साख्वाःकै अनुरोधमा तत्कालीन राजा राघवदेवले नेपाल संवत सुरु गरेका थिए ।

प्राचीन भारतीय राजा विक्रमा द्वितीयले खस जातिका मानिसलाई राज्यबाट धपाई राज्यमा खुसियालीस्वरूप आफ्नै नामबाट विक्रम संवत चलाएका इतिहासमा उल्लेख छ । खसहरूलाई नै धपाई खुसियाली मनाएर प्रादुर्भाव भएको विक्रम संवत मान्नु आमनेपालीका लागि सान्दर्भिक नदेखिने नेपाल संवत पक्षधरहरु बताउँछन् ।

कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत चन्द्रमाको गतिसँगै चल्ने गर्छ भने विक्रम संवत सूर्यको गतिसँग चल्ने गर्छ ।

चन्द्रमाको गतिमा निर्धारण हुने नेपाल संवतको आत्मीय, राष्ट्रिय, सांस्कृतिक, धार्मिक ढंगले मात्र नभई वैज्ञानिक तवरले पनि उत्तिकै महत्व छ । किनकि, चन्द्रमाबाट नै ज्योतिषशास्त्रमा विभिन्न तिथिहरूको निर्माण हुन्छ ।



सम्बन्धित
Loading...