एसिड छ्याप्ने अभियुक्त साढे ६ बर्षपछि हेटौडाबाट पक्राउ

हेटौंडा । विवाहको प्रस्ताव अस्वीकार गरेको कारण हेटौंडा मेनरोडकी विन्दवासिनी कंशाकारलाई एसीड छ्याप्ने अभियुक्तलाई प्रहरीले साढे ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक दिलीपराज केशरी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
२०७० साल बैशाख ९ गते विन्दवासीनीलाई एसिड प्रहार गरी भारतमा लुकेर बसेका दिलीपराज केशरीलाई बारा प्रहरीले बिहीबार राति पक्राउ गरेको हो । भारत महाराजगंज अमरपुर्वन-६ का राज भनिने दिलिपराज केशरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
हेटौंडामा बस्दै आएका केशरीले कंशाकारलाई २०७० साल बैशाख ९ गते पसलमै गएर एसिड प्रहार गरी फरार भएका थिए ।
केशरीलाई ज्यान मार्ने उद्योगमा मुद्धा अघि बढाएको उनले बताए । मुलुकी ऐन अन्तर्गत ज्यान मार्ने उद्योग मुद्धामा ५ वर्षदेखि १२ वर्ष कैद हुने व्यवस्था छ ।