बसले ठक्कर दिँदा पूर्व सांसदको मृत्यु

धनुषा । बसले ठक्कर दिँदा धनुषाका पूर्वसांसद धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर निवासी ६० वर्षीय रामलखन महतोको मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजको विश्वकर्मा चौकमा ढल्केवरबाट जनकपुरतर्फ तीव्र गतिमा गइरहेको बा ५ ख ८८५ नम्बरको बसले ठक्कर दिँदा ६० वर्षीय पूर्वसांसद महतोको मृत्यु भएको े इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
बसले साइकलमा सवार महतोलाई विश्वकर्मा चोकमा बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको हो ।
बसको ठक्करले टाउकोमा गम्भीर चोट लागेका महतोलाई तत्कालै उपचारका लागि एम्बुलेन्सबाट जनकपुर पठाइए पनि अस्पताल पुगेपछि मृत्यु भएको हो । घटनापछि बस र चालकलाई इलाका प्रहरी कार्यालय महन्द्रनगरले नियन्त्रणमा लिएको छ ।
धनुषाको बटेश्वर गाउँपालिका–१ भुचक्रपुर (धुमासन) स्थायी निवासी पूर्वसांसद महतो हाल धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बस्दै आएका थिए । वि.सं. २०५१ सालको मध्यावधि चुनावमा तत्कालीन धनुषा निर्वाचन क्षेत्र नं. ५ बाट सांसद पदमा महतो एमालेबाट चुनाव जितेका थिए ।