उखु किसानले डेढ अर्ब भुक्तान पाएनन
उखु क्रसिङ सकिएको सात महिना भइसक्दा समेत किसानले सरकारबाट पाउनुपर्ने अनुदान अझै पाएका छैनन् । सरकारले प्रोत्साहनस्वरूप छुट्याएको अनुदान किसानले नपाएका हुन् ।
सरकारले उखु किसानलाई उत्पादन परिमाणका आधारमा २०५० सालदेखि नै अनुदान दिँदै आएको छ । विगत २६ वर्षदेखि सरकारले उखु किसानलाई उत्पादनको परिमाणका आधारमा अनुदान दिँदै आए पनि समयमा अनुदान नपाउँदा किसान मर्कामा पर्दै आएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीले उखु किसानलाई अुनदान दिन नयाँ कार्यविधि बनाउन केही समय लागेको हुँदा अनुदान वितरणमा केही ढिलाइ भएको बताए । उनले अनुदान लागि अर्थ मन्त्रालयमा पहिलो किस्ताका लागि ९२ करोड रुपैयाँको माग गरिएको जानकारी दिए । सचिव जीसीका अनुसार यसअघि किसानले चिनी उद्योगीमार्फत अनुदान पाउँदै आएका थिए । अब भने कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट अनुदान रकम सिधै किसानको बैंक खातामा जाने व्यवस्था मिलाइएको छ ।
नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार किसानले १ अर्ब २५ करोड रुपैयाँ पाउनुपर्नेमा हालसम्म १ रुपैयाँ पनि अनुदान पाएका छैनन् । यसैगरी, चिनी उद्योगले पनि उखु किसानको करिब साढे १ अर्ब बढी उखु क्रसिङको बक्यौता दिन बाँकी रहेको छ ।
मैनालीले भने, ‘आर्थिक वर्ष २०७५÷०७६ मा २ करोड ४ लाख ५५ हजार क्विन्टल उखु क्रसिङ भएको छ ।’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नयाँ कार्यविधिको बहानामा किसानको अनुदान दिन ढिलाइ गरिरहेको मैनालीको आरोप छ ।
सबै चिनी उद्योगको उखु क्रसिङ १२ वैशाखमा सकिसकेको थियो । उखु क्रसिङ गर्दा उद्योगीले क्रसिङ गरेको ४५ दिनभित्रमा सबै बक्यौता दिइसक्ने सहमति भएको थियो । सबै चिनी उद्योग गरेर किसानको करिब साढे १ अर्ब बक्यौता रहेको छ ।
१३ वटा चिनी उद्योगमध्ये दुई वटा चिनी उद्योगले मात्र किसानलाई भुक्तानी दिएको मैनालीले बताए । अध्यक्ष मैनालीका अनुसार ११ वटा चिनी उद्योग गरेर करिब १ अर्ब ५० करोड बक्यौता दिन बाँकी छ । यस वर्ष १३ चिनी उद्योगले २ करोड ४ लाख ५५ हजार १८६ क्विन्टल उखु क्रसिङ गरेको छ ।
उद्योगीले जहिले पनि किसानलाई बक्यौता दिन विभिन्न बहाना गरी ढिलाइ गर्ने गरेको मैनालीको आरोप छ । मैनालीले भने, ‘उद्योगीहरूले जस्तोसुकै गल्ती गरेको भए पनि उनीहरूलाई संरक्षण गरेर राख्छ तर किसानहरूका समस्या आउँदा सरकार जानकार नभएको जस्तो गरी बस्छ ।’
अध्यक्ष मैनालीका अनुसार सबैभन्दा धेरै उखु क्रसिङको बक्यौता दिन बाँकी अन्नपूर्ण सुगर मिलको छ । अन्नपूर्ण सुगर मिलको करिब ३२ करोड रुपैयाँ बक्यौता रहेको छ । अन्नपूर्ण मिलको गत वर्षको पनि करिब ५÷६ करोड बक्यौता दिन बाँकी नै छ ।
यसैगरी, इन्दुशंकर चिनी उद्योगले ३४ लाख ९८ हजार ४३४ क्विन्टल उखु क्रसिङ गरेकोमा किसानलाई ३० करोड रुपैयाँ दिन बाँकी रहेको छ ।
यसैगरी, रिलाइन्स सुगर मिलको २५ करोड, एभरेस्ट सुगरको २० करोड, महालक्ष्मी सुगर मिलको १२ करोड, बाग्मती खाँणसारी सुगरको १० करोड, इन्दिरा सुगर मिल ३ करोड, इस्टर्न सुगर मिलको १ करोड र हिमालय सुगर मिलको १ करोड बक्यौता दिन बाँकी छ ।
