महराको थुनछेक बहस सकिएन, भोलि पनि हुने


बलात्कार प्रयासको अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा आज पनि थुनामै बस्ने भएका छन् । काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहस नसकिएपछि भोलि पुनः बहस हुने गरी आजको इजलास स्थगित भएको छ ।



महराको इजलासमा बयान सकिएपछि सुरू भएको थुनछेक बहसमा सरकारी वकिलकाे तर्फबाट चार जनाले बहस गरे भने महराकाे तर्फबाट २ जनाको मात्र बहस सकिएको छ ।

३० जनाभन्दा वढी कानुन व्यवसायीले महराको तर्फबाट बहस गर्न वकालतनामा दर्ता गराएका छन् । आदेश हुन नसक्दा महरा आज पनि हिरासतमै रहने भएका हुन् ।




भोलि थुनछेक बहस सकिए महरा साधारण तारेखमा रिहा हुने, धरौटीमा रिहा हुने या पुर्पक्षका लागि जेल चलान हुने आदेश हुनेछ । महरा संघीय संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको अभियोगमा गत १९ असोजमा पक्राउ परेका थिए ।

पक्राउ परेको करिब एक महिनापछि महरामाथिको थुनछेक बहस आइतबार सुरू भएको हो । प्रहरीले ८ कात्तिकमै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालमा पेस गरे पनि तिहार बिदाका कारण महराको मुद्दा अदालतमा दर्ता गर्न ढिला भएको थियो ।

प्रहरीले २५ दिन थुनमा राखेर महरामाथिको अनुसन्धान गरेको थियो । प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वकिलकाे कार्यालयले महरामाथि साढे ७ वर्ष जेल सजायसहित जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ ।



सम्बन्धित
Loading...