सीसीटीभीबाट पत्ता लाग्यो वानेश्वरमा डाक्टरलाई ठक्कर दिने बस, चालक रामेछापबाट पक्राउ 




सीसीटीभीबाट पत्ता लाग्यो वानेश्वरमा डाक्टरलाई ठक्कर दिने बस, चालक रामेछापबाट पक्राउ 

काठमाडौं । काठमाडौंको नयाँ वानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको बस र चालक रामेछापमा पक्राउ परेका छन् । प्रहरीले रामेछापबाट बा ३ ख ६१४ नम्बरको यात्रुवाहक बस र चालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले भक्तपुर सूर्यविनायक बस्ने चालक बुद्धिकुमार कोजुलाई सोमबार रामेछापबाट पक्राउ गरि काठमाडौं ल्याएको परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

आइतबार बिहान नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशी मर्निङ वाक निस्किएको बेला सो बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो । संसद् भवनको दक्षिण गेट अगाडि बसले ठक्कर दिएको भए पनि प्रहरीले बस र चालकको पहिचान गर्न सकेको थिएन ।

घटना बिहान ६ बजे भएपछि प्रहरीले त्यतिबेलाको सीसीटीभी फुटेज हेरेको थियो । फुटेजमा सो गाडी नयाँ बसपार्क, भक्तपुर, काभ्रे हुँदै रामेछापतर्फ पुगेको देखिएको थियो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।



सम्बन्धित
Loading...