अग्रता जोगाउन नसक्दा बराबरीमा राेकियो रियल
च्याम्पियन्स लीगको प्रतिक्षीत भिडन्तमा रियल म्याड्रिड अन्तिम १० मिनेट समालिन नसक्दा फ्रेन्च जाइन्ट पेरिस सेन्ट जर्मेइन (पिएसजी) विरुद्धको जितबाट विमुख भएको छ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको समूह ए को खेलमा रियल र पिएसजी २–२ को बराबरीमा खेले। रियलको घरेलु मैदानमा भएको खेलमा २–० ले पछि परेको अवस्थाबाट पिएसजीले अन्तिम १० मिनेटमा पुनरागमन गर्दे खेल बराबरी गर्न सफल भयो।
रियलका लागि करिम बजेन्जिमाले १७ र ७९ औँ मिनेटमा गोल गर्दे टिमलाई जित नजिक पुर्याएका थिए। अन्तिमको १० मिनेट बाँकी हुँदासम्म गोल फर्काउन नसकेपछि पिएसजीले हार्ने अनुमान गरिएको थियो। तर ८१ औँ मिनेटमा केलियन एमबाप्पेले पिएसजीका लागि पलो गोल गरे।
पहिलो गोल खाएपछि समालिन नपाउँदै ८३ औँ मिनेटमा पाब्लो साराबिएले टिमका लागि दोस्रो गोल गर्दा रियलका घरेलु समर्थक स्तब्ध बनेका थिए । दुवै टिमको नकआउट निश्चित भइसकेको छ। समुह ए मा शीर्ष स्थानको पिएसजीको १३ अंक रहँदा दोस्रो स्थानको रियल मड्रिडको ८ अंक छ।
