उपनिर्वाचन वहिस्कारकाे अपिल गर्दै पर्चा छर्ने २ जना पक्राउ, काेहल्पुरमा निर्वाचन वहिस्कार सभा गर्ने १३ जना पक्राउ
उपनिर्वाचन बहिस्कारसम्बन्धी पर्चा छरेको भन्दै प्रहरीले भक्तपुरको नगरकोटबाट देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका दुई जना जिल्ला सदस्यलाई गिरफ्तार गरेको छ । उनीहरुलाई प्रहरीले उपनिर्वाचन बहिस्कारसम्बन्धी पर्चा छरेको आरोप लगाएको छ ।
पक्राउ पर्नेमा देजमोेका जिल्ला सदस्यहरु पदम लामा र कृणप्रसाद घेमसु रहेको मोर्चाका भक्तपुर सचिव रामहरि गणेजुले जानकारी दिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
विहान १० बजे पक्राउ गरिएका उनीहरुको रिहाइका लागि मोर्चाले दिनभरि पहल गर्दा पनि प्रहरीले रिहा गर्न नमानेपछि एक वक्तव्य जारी गर्दै मोर्चाका जिल्ला सचिव गणेजुले पक्राउ गरिएका कार्यकर्ताहरुलाई तत्काल रिहाइ नगरिए भक्तपुर जिल्ला बन्दको आव्हान गर्ने चेतावानी दिएका छन् ।
शान्तिपूर्ण रुपमा विरोधका कार्यक्रम गर्न पाउने नैसर्गिक अधिकार भएको दावी गर्दै वक्तव्यमा शान्तिपूर्ण कार्यक्रममा समेत हस्तक्षेप गरेर सरकारले फासिवादी चरित्र प्रदर्शन गरेको उल्लेख गरेका छन् ।
त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल बाँकेको आयोजनामा सीमा अतिक्रमण र उपनिर्वाचन बहिस्कारको विषयमा गरिएको कोणसभामा प्रहरीले हस्तक्षेप गरेको छ ।

बाँकेको कोहलपुर–६, रजनामा भएको कोणसभामाथि हस्तक्षेप गरी प्रहरीले नेकपा (क्रान्तिकारी माओवादी)का वैकल्पिक पीवीएम भुपेन्द्र न्यौपानेसहित, केस तेजविक्रम शाही लगायत १३ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
प्रहरीले उनीहरुलाई नेपालगञ्ज प्रहरी कार्यालयतर्फ लगेको कार्यक्रमस्थलबाट देजमोकी केन्द्रीय सदस्य लक्ष्मी चौलागाईले जानकारी दिइन् । उनका अनुसार गिरफ्तार गरिएका अन्य नेता कार्यकर्ताहरुमा देजमो बाँकेका अध्यक्ष सुरेश ओली, प्रेम थापा, पार्टीका बर्दिया सेक्रेटरी विपिन रोकाय, हृदेव शाही, धुमबहादुर सिंहलगायत रहेका छन् ।
कार्यक्रम स्थलमा भएको प्रहरी दमनका विरुद्ध कोणसभामा उपस्थित नेता कार्यकर्ता तथा जनसमुदायले नाराबाजी समेत गरेका थिए ।