नयाँ फिफा वरियतामा नेपाल ३ स्थान तल झर्यो
फिफाले जारी गरेको नयाँ फुटबल वरियतामा नेपाल ३ स्थान तल झरेको छ । विश्व फुटबलको नियमनकारी निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ३ स्थान तल झरेको हो ।
नयाँ वरियतामा नेपाल १७०औं स्थानमा रहेको छ । यसअघि नेपाल १६७औं स्थानमा रहेको थियो । प्रदर्शनका आधारमा दिइने पोइन्ट ९८८ बाट घटेर ९७४ भएपछि नेपाल ३ स्थान तल झरेको हो ।
दक्षिण एसियाली देशमध्येमा नेपाल तेस्रो स्थानमा परेको छ । नेपालभन्दा माथि रहेका भारत र माल्दिभ्स क्रमशः १०८ र १५५औं स्थानमा छन् । यसैगरी, नेपालभन्दा तल बंगलादेश १८७, भुटान १८९, पाकिस्तान २०१ र श्रीलंका २०५औं स्थानमा रहेका छन् ।
विश्व वरियतामा बेल्जियम अझैपनि शीर्षस्थानमा यथावत रहन सफल भएको छ । यस्तै, फ्रान्स दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा ब्राजिल रहेको छ । चौथो स्थानमा इंग्ल्यान्ड रहेको छ भने उरुग्वे पाँचौ स्थानमा रहेको छ ।