माल्दिभ्सका पूर्वराष्ट्रपतिलाई जेल सजाय
माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यामिनलाई बिहीबार साँझ ५० लाख अमेरिकी डलरबराबरको जरिवानाका साथै ५ वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।
माल्दिभ्स फौजदारी अदालतका न्यायाधीश अलि रसिदको नेतृत्वमा रहेको ५ जना न्यायाधीशको इजलासले सो फैसला गरेको हो । होटलको विकासका लागि विभिन्न टापुहरू भाडामा लिने सम्झौता गर्दा निजी कम्पनीमार्फत यामिनले १ लाख अमेरिकी डलर सरकारी रकम प्राप्त गरेको भन्दै दोषी ठहर गरिएको हो ।
यामीनले रकम लिएको अस्वीकार गरेका छन् । माल्दिभ्स प्रहरी सेवालाई दिएको बयानपछि अभियोजकको कार्यालयले भूतपूर्व राष्ट्रपतिलाई फौजदारी आरोप लगाएको थियो । उनीमाथि भ्रष्टाचार गरेको आरोप लगाई अनुसन्धानलाई भ्रमित पार्न गलत बयान दिएको आरोप लगाइएको छ ।