जापानका पूर्वप्रधानमन्त्री नाकासोनेको निधन
जापानका पूर्वप्रधानमन्त्री यासुहिरो नाकासोनेको १ सय १ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जापानका निकै लोकप्रिय नेताको छवि बनाएका नाकासोनेले आफ्नो कार्यकालमा संयुक्तराज्य अमेरिकासँग बलियो सैनिक गठबन्धन निर्माण गरेका थिए ।
सन् १९८२ देखि १९८७ सम्म ५ वर्ष जापानको प्रधानमन्त्री रहेका भएका नाकासोनेले रुस र अमेरिकाबीचको शीतयुद्धकालीन समयमा जापानलाई पश्चिमा राष्ट्रसँगको गठबन्धनमा उभ्याएका थिए ।
दोस्रो विश्वयुद्धपछि जापानलाई आर्थिक तथा सामरिक रूपमा बलियो राष्ट्र बनाउन नाकासोनेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग सुदृढ मैत्रीपूर्ण सम्बन्ध विकास गरेका नाकासोनेले जापानका लागि अमेरिका सदैव अति महत्त्वपूर्ण साझेदार मुलुक रहेको बताए ।
जापानको माथिल्लो सदनका सदस्यसमेत रहेका नाकासोनेका छोरा हिरोफुमी नाकासोनेको कार्यालयले आफ्ना बुबाको निधन भएको जानकारी दिए । तर, उनको मृत्युको कारणका बारेमा विस्तृत केही उल्लेख गरेका छैनन् ।