द्वन्दका यातना पीडित र सरोकारवालाबीच कावासोतीमा अन्तरक्रिया
- शोभा जिसी –

कावासोती । आइतबार कावासोतीमा द्वन्दका यातना पीडित र सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ ।
कोपिला नेपालद्वारा सञ्चालित यातना पीडितको लागि मनोसामाजिक सहयोग परियोजनाको समिक्षा तथा सरोकारवालको भुमिका विषयक अन्तरक्रिया कावासोतीमा भएको हो ।
जिल्ला समन्व्य समितिका प्रमुख चेसराम आलेको अध्यक्षतामा भएको कार्यक्रममा यातना पीडितहरुले आफ्ना गुनासोहरु कार्यक्रममा राखेका थिए ।
कार्यक्रममा नवलपुर यातना पीडित सरोकार समाज नवलपुरका अध्यक्ष पूर्णकला भुसाल प्रतिमाले अझै आधाभन्दा बढी यातना पीडितहरु नै सूचितकृृत हुन नसकेका, यातना पीडित महिला अझै पनि समाजबाट पीडित हुन परेको बताइन् ।

त्यसैगरी अन्य यातना पीडितहरुले राज्यबाट आफूहरुलाई दिने भनेको राहत अझै पाउन नसकेको गुनासो गरेका थिए ।
कार्यक्रममा नेकपाका सुस्मा खनाल, नेपाली काँग्रेसका गोपाल वस्ताकोटी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय तहका अध्यक्ष तथा प्रमुख लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणमा यातना पीडित र राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख एवम् अध्यक्ष र सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुबीच कार्यृक्रमको बारेमा छलफल गरिएको थियो ।
दोस्रो चरणमा राजनीतिक दलका प्रतिनिधिहरुले यातना पीडितका गुनोसाहरु सुनेका थिए ।
कोपिला नेपालका मनोविमर्शकर्ता जुनु श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तिर्थबहादुर थापाले सहजिकरण गरेका थिए ।
जनयुद्धका बेला नवलपुरमा राज्यपक्ष र विद्रोही पक्षबाट गरी ३ सय बढीले यातना पाएको अनुमान गरिएको नवलपुरमा अहिलेसम्म जम्मा ६५ जना यातना पीडितको रुपमा सूचिकृत भएका छन् भने ६५ जना मध्ये जम्मा १५ जनाले मात्र २५ हजारका दरले राहत पाएका छन् ।