टी–२० क्रिकेटमा अन्जलीको विश्व कीर्तिमान

नेपालकी फास्ट बलर अन्जली चन्दले टी–२० क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छन् । पोखरामा सोमबार १३ औं साग अन्तर्गत महिला क्रिकेटमा माल्दिभ्सविरुद्धको खेलमा उनले २ ओभर १ बलमा रन नै नदिएर ६ विकेट लिइन् ।
उनले २ जनलाई बोल्ड आउट गरिन् भने चार जना ब्याट्सम्यानलाई क्याच आउट गराएकी हुन् । उनले ९ नवौं ओभरको ५ औं र छैठौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेकी थिइन् ।
टी–२० महिला क्रिकेटमा यो हालसम्मकै सबैभन्दा उत्कृष्ठ प्रदर्शन हो । यसअघि मलेसियाकी मास अलिसाले चार ओभरमा १ मेडनसहित ३ रन खर्चिएर ६ विकेट लिएको रेकर्ड थियो । अन्जलीको उत्कृष्ट प्रदर्शनसँगै माल्दिभ्स १० दशमलव १ ओभरमा १६ रनमा अलआउट भयो ।
माल्दिभ्सका ९ जना खेलाडी शून्य रनमा आउट भए । उसका लागि हमाना नियाजले ९ रन बनाएर आउट भइन् भने हप्सा अफ्सा अब्दुल्लाले ४ रन बनाइन् । नेपालका लागि करुणा भण्डारीले दुई विकेट लिएकी थिइन् ।
जवाफमा नेपालले ५ बलमा लक्ष्य पूरा गर्दै १० विकेटको जित हात पा¥यो । नेपालको जितमा काजल श्रेष्ठले ३ चौकासहित १३ रनको योजना गरिन् ।