डडेल्धुराको आलिताल गाउँपालिकामा उत्पादनमुखी कृषि कार्यक्रम प्राथमिकता 


  • दिपकराज भट्ट – 


डडेल्धुरा । डडेल्धुराको भित्रिमधेस क्षेत्रमा पर्ने आलिताल गाउँपालिकाले उत्पादन मुखी कृषि कार्यलाई प्राथमिकता दिएर जर्सी गाईपालन कार्यक्रम शुरु गरेपछि एकबर्ष यता सो क्षेत्रमा हरेक घरमा जर्सी गाइ पालन गर्न थालेका छन् ।




साविकको आलिताल र गाँगखेत गाविस मिलेर बनेको आलिताल गाउँपालिका पशुपालनको सम्भावना भएको क्षेत्र भएकाले गाउँपालिकाले पहिलो बजेटमा पशुपालन र कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम लागू गरिएको थियो । कार्यक्रम शुरु भएको दुई बर्ष पनि नबित्दै आलिताल सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको पहिलो उन्नत गाईपालन पकेट क्षेत्र बन्न पुगेको छ ।

‘गाउँपालिकाले शुरु गरेको कार्यक्रमलाई अन्तराष्ट्रिय दातृ निकाय यूएनडीपी, एमरेड परियोजना, दुग्ध विकास संस्थान, कृषि ज्ञान केन्द्र डडेल्धुरा, भेटनरी अस्पताल तथापशु सेवा विज्ञ केन्द्र डडेल्धुरा जस्ता सरकारी कार्यालयले पनि सहयोग गरेका छन,’ आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले भने ‘ट्यांकरमार्फत दैनिक २५ सयदेखि चार हजार लिटरभन्दा बढी दूध आलितालबाट धनगढी गइरहेको छ ।’

एनका अनुसार स्थानीय तह गठन भए लगत्तै पहिलो वर्षको नीति तथा कार्यक्रममा उत्पादनमुखी व्यवसायलाई विशेष प्राथमिकतामा राखेर गाईपालन शुरु भएको हो । गाउँपालिकाका अध्यक्ष गुरुङले भने, ‘पशुपालनको प्रशस्त सम्भावना भएको क्षेत्र भएकाले चाँडै कार्यक्रमको प्रतिफल कृषकहरूले पाउन शुरु गरेका छन ।’

उनले दुग्ध विकास संस्थानले जति दूध उत्पादन भए पनि खरिद गर्ने जिम्मा लिएपछि यस क्षेत्रमा जर्सी गाई नभएका कृषक कमै भेटिने बताए । अध्यक्ष गुरुङ भन्छन, ‘गाउँपालिका भित्र तीन सय भन्दा बढी जर्सी गाईपालन भइरहेका छन ।’

घरघरमा जर्सी गाईपालन शुरु भएपछि स्थानीय उपभोक्ता मिलेर आलितालको घरेलुमा दुग्ध चिस्यान केन्द्र स्थापना गरेका छन । बिहानीपख धनगढीबाट आउने ट्यांकरले दूध लैजाने गरे पनि साँझको दूध भण्डार गरेर अर्को दिन तराई पठाउने गरिएको छ । यतिमात्रहोइन, चिस्यान केन्द्रसँगै दूधबाट बन्ने विभिन्नखाले परिकार बनाउने उद्योगसमेत स्थानीयले स्थापना गरेका छन ।

‘यस वर्षगाउँपालिकाको पहलमाथप एउटा ट्यांकर खरिद हुनथालेको छ’ गाउँपालिकाअध्यक्ष गुरुङले भने । गाईपालन कार्यक्रम अन्तर्गत गाउँपालिकाले घाँस उत्पादन, प्राविधिक सहयोग र औषधि उपचारको समेत व्यवस्था गरिदिएका कारण यस क्षेत्रका कृषक यसतर्फ बढी आकर्षित भएका छन । कृषकलाई गाई खरिदमा अनुदानको व्यवस्था गरिएको छ । विभिन्न संघ संस्थाहरूले पनि विभिन्न खाले सहयोग गरिरहेको कृषकहरूले बताएका छन ।



सम्बन्धित
Loading...