विष्फोटक पदार्थसहित विप्लव कार्यकर्ता पक्राउ
संखुवासभाको पाँचखपन नगरपालिका–४ जलजलाको पोख्राङबाट विष्फोटक पदार्थसहित नेपाल कम्यूनिष्ट पार्टी विप्लवसम्बद्ध एक कार्यकर्ता पक्राउ परेका छन् । चैनपुर नगरपालिका–५ का यामप्रसाद गौतमलाई पाँचखपन–८ जलजला बाट पक्राउ गरेको संखुवासभा प्रहरीले जनाएको छ ।
गौतमको साथबाट बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थसहित पक्राउ गरेको संखुवासभाका प्रहरी प्रमुख डीएसपी मिम लामाले जानकारी दिए ।
उनको साथबाट विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने डेटोनेटर थान १३, नीओजेल लेखिएको लोला १५ थान , सेप्टी प्यूज ९.९५ मिटर, नन् ईलेक्ट्रिक डेटोनेटर थान ११, एकिकृत जनक्रान्ति लेखिएको किताब थान एक थान, विधान २०७३ लेखिएको थान एक थान, कालो डायरी थान एक थान र विभिन्न पुस्तकहरू र एक थान मोवाईल र दुई थान सिमकार्डसमेत फेला परेको संखुवासभा प्रहरीले जनाएको छ ।
पाँचखपनमा चन्दा आंतक
पछिल्लो समय पाँचखपनका जनप्रतिनिधिलाई विप्लव कार्यकर्ताले धम्क्याउँदै चन्दा असुल गर्न थालेका छन् । विप्लव समूहको निरन्तर फोन, म्यासेजमार्फत चन्दा आतंकले जनप्रतिनिधि हैरान भएका छन् । पाँचखपनका एक वडाध्यक्षले भने, ‘हामी जनप्रतिनिधिहरूलाई चन्दाका लागि पटक–पटक फोनबाट धम्की आउने गरेको छ ।’
उनले भने ज्यान जोमिखमा भएका कारण खुलेर भन्न नसकिने । अज्ञात समूहले गत मंसिर १८ गते पाँचखपन नगरपालिकाको १ झ ५४० नम्बरको गाडी तोडफोड गरेको थियो । चन्दा नदिएकै कारण गाडी तोडफोड भएको हुनसक्ने जनप्रतिनिधिले अनुमान गरेका छन् ।