अर्को निर्वाचनको तयारीमा जुट्यो आयोग, १९ सांसदको निर्वाचन हुँदै


१४ मंसिरमा ५२ स्थानमा उपनिर्वाचन सम्पन्न गरेको निर्वाचन आयोग पुनः अर्को निर्वाचनमा जुटेको छ । एक प्रतिनिधिसभा, ३ प्रदेशसभासहित ५२ स्थानको मतपरिणाम राष्ट्रपति कार्यालयमा बुझाएलगत्तै आयोगले आगामी २० फागुनबाट रिक्त हुने राष्ट्रियसभा निर्वाचनको तयारी थालेको हो ।



५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाइ सांसद (१९ जना) को पदावधि आगामी २० फागुनबाट सकिँदैछ । पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार आयोगले आगामी १५ माघअगावै निर्वाचन सक्ने गरी निर्वाचन तालिका प्रस्ताव गरेको हो ।

राष्ट्रियसभाको पहिलो पटक निर्वाचन हुँदा उनीहरूको पदावधि गोलाप्रथाद्वारा २ वर्ष, ४ वर्ष र ६ वर्ष निर्धारण भएको थियो । यसरी पदावधि निर्धारण भएकामध्ये १९ जनाको पदावधि सकिन लागेको हो । १९ मध्ये १८ स्थानमा भने निर्वाचन हुनेछ । एक पद भने सरकारको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्नुपर्ने भएकाले सो स्थानमा भने निर्वाचन हुने छैन ।




अर्थमन्त्री युवराज खतिवडा मनोनीत कोटाबाट आएका सांसद हुन् । उनको पदावधि पनि आगामी २० फागुनबाटै सकिँदैछ । उनको स्थानमा भने निर्वाचन नभई मनोनयन प्रक्रियाद्वारा सांसद चयन हुनेछ ।


यसरी हुँदैछ निर्वाचन

५९ सदस्यीय राष्ट्रियसभामा हरेक प्रदेश (सात प्रदेश) बाट समावेशी सिद्धान्तका आधारमा आठ जनाको दरले निर्वाचित हुने कानुनी प्रावधान छ । बाँकी तीन जनालाई भने सरकारको सिफारिशमा राष्ट्रपतिले मानोनीत गर्ने व्यवस्था छ ।

यसरी पहिलो पटक निर्वाचित भएर आएका सांसदको कार्यकाल गोलाप्रथाद्वारा २ वर्ष, ४ वर्ष र ६ वर्ष निर्धारण हुन्छ । हाल रिक्त हुन लागेका सांसद २ वर्ष कार्यकाल पूरा हुन लागेका सांसद हुन् । रिक्त रहेका १९ मध्ये १८ स्थानमा भने निर्वाचन हुनेछ ।

आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि दलहरूले रिक्त भएका सांसदका लागि सम्बन्धित प्रदेशबाट उम्मेदवारी दर्ता गर्नेछन् । जहाँ स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख उपप्रमुख, प्रदेश सभा सदस्य रहेको निर्वाचक मण्डलले मतदान गर्नेछन् ।

राष्ट्रियसभाका ५९ सांसदले पहिलो पटक गोला प्रथा गर्दा १९ जनाको कार्यकाल २ वर्ष, २० जनाको कार्यकाल ४ वर्ष र २० जनाको कार्यकाल ६ वर्ष परेको थियो ।

यी हुन् २० फागुनमा घर फर्कने सांसद

नेकपाः हरिचरण शिवाकोटी, बलराम प्रसाद बाँस्कोटा, मीना बुढा, राजकुमार कुँवर, डा. युवराज खतिवडा, कालीबहादुर मल्ल, कमलाकुमारी ओली, खेमराज नेपाली, युटोल तामाङ

कांग्रेसः सुरेन्द्रराज पाण्डे, सरिता प्रसाईं, मुक्ताकुमारी यादव, विन्दादेवी आले, दुर्गाप्रसाद उपाध्याय, बद्रिप्रसाद पाण्डे, धनकुमारी खतिवडा

राजपाः वृषेशचन्द्र लाल, रमेशप्रसाद यादव

समाजवादीः रामप्रित पासवान



सम्बन्धित
Loading...