सागको नवौं दिन : नेपाललाई चार स्वर्ण, नेपालको स्वर्ण पदक संख्या ४९ पुग्यो

१३औं दक्षिण एसियाली खेलकुद (साग)को नवौं दिन अर्थात् सोमबार नेपालले चारवटा स्वर्ण पदक जितेको छ । पौडी, जुडो र बक्सिङमा नेपालले स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले १०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितिन् । जारी सागमा व्यक्तिगत विधामा उनले जितेको यो चौथो स्वर्ण हो ।
उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेन्डमा पार गरिन् । भारतकी शिभांगीले रजतमा चित्त बुझाइन् । गौरिकाले सागको एकै संस्करणमा चारवटा स्वर्ण जित्ने कीर्तिमान बनाएकी हुन् । यसअघि तेक्वान्दोका दीपक विष्टले सागमा सर्वाधिक चार स्वर्ण जितेका थिए । गौरिकाले दीपकको कीर्तिमानसँग बराबरी गरेकी छन् ।
यसैगरी, सोमबार सातदोबाटोस्थित कराते हलमा जुडोकी पुनम श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाइन् । पुनमले महिला ७८ केजी तौल समूहमा बंगलादेशकी फरिना खानोमलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् ।
भारतकी नवनित कौरलाई पराजित गर्दै पुनम सेमिफाइनल पुगेकी थिइन् । जुडोमा नेपालको यो दोस्रो स्वर्ण हो । यसअघि देविका खड्काले जुडाेमा स्वर्ण पदक जितेकी थिइन् ।
बक्सिङमा नेपालका भूपेन्द्र थापा मगरले स्वर्ण पदक जिते । कराते हलमै भएको प्रतिस्पर्धामा भूपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् । स्वर्ण पदक जित्न उनले भारतका मनिष कौसिकलाई हराए ।
योसँगै १३औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ४९ पुगेको छ । जारी सागमा न्यूनतम ५० स्वर्ण जित्ने लक्ष्य नेपालकाे छ ।