लैंगिक हिंसाविरूद्धको १६ दिने अभियानः दैनिक चार जनाभन्दा बढी पीडित



लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालित भइरहेका यस्तै हिंसामा दैनिक चार जनाभन्दा बढी पीडित भएको तथ्यांकसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।



अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ९ मंसिरदेखि २४ सम्म प्रकाशित समाचारका आधारमा तयार पारेको तथ्यांकसहितको प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । यो तथ्यांक देशभरिकै हो ।

अभियान सञ्चालन भएकै बेला दैनिक चारवटा हिंसाका घटना भएको भन्दै इन्सेकले अन्य समयमा हिंसाको रूप भयावह हुन सक्ने बताएको छ ।




इन्सेकमा भएको अभिलेखका आधारमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको अवधिमा बलात्कारका घटनामा नौ जना महिलासहित २७ जना पीडित भएको जनाइएको छ ।

त्यसैगरी, यौन दुर्व्यवहारका घटनामा चार वर्षीया बालिकासहित १० जना र बलात्कार प्रयासका घटनामा ६ जना महिला पीडित भएका छन् ।

यो अवधिमा बेचबिखन प्रयासका घटनामा तीन बालिकासहित पाँच जना, बेचबिखन घटनामा तीन जना बालिका र कथित बोक्सीको आरोपमा दुई जना महिला पीडित भएको र परिवारकै सदस्यबाट तीन जना महिला र एक बालिकाको हत्या भएको उल्लेख छ ।

‘अभिलेखित सबै घटनाको अनुसन्धान प्रक्रिया जारी छ । १६ दिने अभियान चलिरहँदा अछाममा एक जना महिलाको छाउगोठमा मृत्यु भयो । छोराले आमालाई कुटपिट गरी घाइते बनाएकोलगायतका घरेलु हिंसाका घटना इन्सेकको अभिलेखमा छ’, प्रतिवेदनमा उल्लेख छ ।

घरेलु हिंसाका घटनाको तथ्यांक यो प्रतिवेदनमा समावेश नगरिए पनि त्यस्ता घटना पनि अभिलेखमा राखिएको इन्सेकले जनाएको छ ।



सम्बन्धित
Loading...