को हुन् टाइम म्यागेजिनको ‘पर्सन अफ दि इयर’ बनेकी १६ वर्षीया ग्रेटा ?
यस वर्षको टाइम म्यागाजिनको ‘पर्सन अफ दि इयर’ (वर्ष व्यक्ति) १६ वर्षीय स्वीडिस किशोरी घोषित भएकी छन् । जलवायु परिवर्तनबारेको विश्वव्यापी अभियानमा प्रेरणादायी पात्र स्कुले किशोरी ग्रेटा टून्बेर्ग टाइम म्यागेजिनको सन् २०१९ को पर्सन अफ दि इयर घोषित भएकी हुन् ।
सन् १९२३ मा स्थापना भएको टाइम म्यागाजिनले सन् १९२७ देखि लगातार वर्ष व्यक्ति घोषणा गर्दै आएको छ । यसक्रममा वर्ष व्यक्ति घोषणा हुने उनी पहिलो सबैभन्दा कम उमेरकी किशोरी हुन् ।
वर्षव्यक्ति घोषणा हुनुअघि स्पेनको म्याड्रिडमा चलिरहेको संयुक्त राष्ट्रसंघको एउटा जलवायु सम्मेलनमा बोल्दै उनले नेताहरूले सच्चा काम नगरी त्यसलाई ढाकछोप गर्न अनेक सिर्जनशील तरिका अपनाउने गरेको बताउँदै त्यस्तो प्रवृत्ति त्याग्न आग्रह गरेकी छन् ।
आगामी दशक पृथ्वीको भविष्यबारे निर्णायक हुने पनि बताइन् ।
गत वर्ष उनले प्रत्येक शुक्रवार आफ्ना कक्षाहरू छाड्दै स्वीडिस संसदबाहिर धर्ना बसेर वातावरण सम्बन्धी हड्ताल सुरु गरेकी थिइन। त्यसले सामाजिक सञ्जालमा #FridaysForFuture शब्दावलीलाई चर्चित बनाएको थियो ।
त्यसपछि उनी जलवायु परिवर्तनबारे काम हुनुपर्ने विषयकी बलियो स्वर बनेकी थिइन् । उनको अभियानले दशौ लाख विद्यार्थीलाई विश्वभरी प्रदर्शनमा उत्रिन प्रेरणा दिएको थियो ।
यसै वर्षको सुरुमा उनलाई नोबेल शान्ति पुरस्कारका लागि समेत मनोनयन गरिएको थियो । म्याड्रिड सम्मेलनमा आउने क्रममा उनले कार्बन उत्सर्जनलाई छल्न भन्दै हवाईजहाज यात्राको विकल्पमा न्यूयोर्कबाट डुङ्गामार्फत् आन्ध्र महासागर पार गरेकी थिइन् ।
गत सेप्टेम्बरमा न्यूयोर्कमा भएको जलवायु सम्बन्धी सम्मेलनमा उनले नेताहरू लक्षित आक्रोसपूर्ण मन्तव्य दिएकी थिइन्।
उनको भनेकी थिइन्, ‘खोक्रा शब्दहरूले तपाईँहरूले हाम्रो, मेरा सपनाहरू र मेरो बाल्यकाल चोर्नुभएको छ। हामीहरूले तपाईँहरूलाई हेरिरहेका छौँ।’
टाइम म्यागेजिनले आफ्नो घोषणाबारे भनेको छ, ‘सामान्य रूपबाटै यस विश्वव्यापी अभियानको नेतृत्व गर्न आएकी उनी यो वर्ष विश्वले खेपिरहेको सबैभन्दा ठूलो मुद्दाको सबैभन्दा ठूलो स्वर बनेकी छन्।’
यद्यपि अनुदारवादीहरुले उनको सन्देशलाई कुनै महत्त्व दिएका छैनन् । म्याड्रिडमा उनी बोल्नुअघि ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोले उनलाई एकजना ‘समस्या सिर्जना गर्ने बच्चा’ को संज्ञा दिएका थिए । उनले अमेजन जंगलमा ब्राजिलका आदिवासीहरू मारिइरहेको बताएकी थिइन्।
बोल्सोनारोले भने, ‘ग्रेटाले इन्डियन्सहरूले अमेजन संरक्षण गरेर बसेकै कारण उनीहरूको मृत्यु भएको भनेकी छन्। प्रेसले उनीजस्ती केटाकेटीलाई स्थान दिइरहेको कुरा निकै रोचक छ।’
उनले ‘समस्या सिर्जना गर्ने बच्चा’ को पोर्चुगिच शब्द ‘पिरल्हा’ प्रयोग गरेका थिए । सोही शब्दलाई नै आफ्नो ट्विटरको परिचय बनाएर टून्बेर्गले आफ्नो प्रतिक्रिया जनाएकी थिइन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई ‘दयालु तर निकै थोरै कुरा बुझेकी किशोरी’ को संज्ञा दिएका थिए ।