सलमान खानको घरमा बम पड्काइदिने धम्की

भारतको गाजियावादका एक १६ वर्षे किशोरले बलिउडका लोकप्रिय अभिनेता सलमान खानको घरमा बम पड्काइदिने धम्की दिएका छन् । उनले डिसेम्बर ४ मा मुम्बई पुलिसलाई इमेल गरेर सलमान खानको घरमा बम पड्काइदिने धम्की दिएका हुन् ।
‘बान्द्राको ग्यालेक्सीमा रहेको सलमान खानको घरमा अबको २ घण्टामा बम विष्फोट हुँदैछ । रोक्न सक्छौ भने रोकेर देखाउ,’ मुम्बई पुलिसलाई आएको इमेलमा लेखिएको थियो ।
मेल पाउना साथ बम डिस्पोजल टोली लिएर मुम्बई पुलिस ग्यालेक्सी अपार्टमेन्ट पुगेको थियो । सलमान खान आफ्नो परिवारसहित बान्द्रामा रहेको ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएका छन् ।
तर, प्रहरी अपार्टमेन्टमा पुग्दा सलमान त्यहाँ थिएनन् । उनका पिता सलीम खान, आमा सलमा खान र बहिनी अर्पिता खानमात्र त्यहाँ थिए । प्रहरीले तीनैजनालाई सुरक्षित स्थानमा लगेर पुरै घरमा खोजतलास गरेको थियो ।
तर, ४ घन्टा खोज्दा पनि बम फेला नपरेपछि इमेलमा दिइएको धम्की झुटोे साबित भएको थियो । त्यसपछि प्रहरीले इमेल पठाउने आईडी र त्यसको आईपी एड्रेस ट्रयाक सुरु गरेको थियो ।
ईमेल ट्रयाक गर्दा गाजियावादमा बस्ने १६ वर्षे किशोरले धम्की दिएको पत्ता लागेको थियो । लोकेसन ट्रेस भएपछि मुम्बई पुलिस तत्काल गाजियावादस्थित किशोरको घरमा गयो ।
तर, प्रहरी पुग्दासम्म ती किशोर फरार भइसकेका थिए । घरमै रहेका ती किशोरका दाजुले उनलाई घर फर्किन वाध्य पारेपछि प्रहरीले उनलाई बान्द्रा पुलिस स्टेसनमा आत्मसमर्पण गर्न पत्राचार गरेको थियो ।
आत्मसमर्पणपछि उनलाई जुभेनाइल कोर्ट (बाल अदालत) मा पेश गरियो । हाल उनलाई अदालतले रिहा गरिसकेको छ ।