नवलपरासीमा भुकम्प पछिको पुननिर्माण सकियो

नवलपरासी । महाभुकम्प पछि भएको निजी आवासतर्फको क्षतिको पुननिर्माण कार्य नवलपरासीमा सकिएको छ ।
पूर्वी नवलपरासीमा भुकम्पका कारण ८ सय ५२ घरमा क्षति भएकोमा ८ सय ५१ घरले सबै किस्ता लगेर निर्माण कार्य सकेको राष्ट्रिय पनुनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपुरका इकाइ प्रमुख राजेन्द्र कार्कीले बताए ।
उनका अनुसार एक घर अहिले सम्म सम्झौता गर्न आएको छैन । उक्तका नेपाली नागरिकता भएका व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिर गएको र घर अन्य परिवारसँग नेपाली नागरिकता नभएका कारण सम्झौता हुन नसकेको हो ।
भुकम्पबाट क्षति भएको भनिएको सबै निजी घरको निर्माण कार्य सकिएको र केही प्राविधिकहरुले गर्ने अनुगमन मात्र बाँकी रहेको कार्कीले बताए ।
३२ जिल्लामा भुकम्पले क्षति पुर्याएकोमा निजी आवासतर्फको निर्माण कार्य सक्ने जिल्ला नवलपरासी नै पहिलो बनेको छ । पूर्वी नवलपरासीमा भुकम्पबाट निजी आवास क्षति भएको भनेर दुई हजार दुई सय ४० वटा नयाँ गुनासो दर्ता भएको र आफूहरुले अुनगमन सकेर केन्द्रमा पठाइसकेको उनले बताए ।
त्यसैगरी पश्चिम नवलपरासीमा भुकम्पका कारण निजी आवासतर्फ २० घर क्षति भएकोमा १९ वटा घर निर्माण सम्मन्न भइसकेको र एक घर सम्पर्कमा नआएको कार्कीले बताए । पश्चिम नवलपरासीमा जम्मा १२ वटा मात्र नयाँ गुनासो आएको कार्कीले बताए ।
२०७६ चैत्र सम्ममा निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने घोषणा गरी काम शुरुवात गरिएकोमा लक्ष्य अगावै निर्माण कार्य सकिएको उनले बताए ।