कावासोतीमा बन्यो पहिलो नमुना मार्ग

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाकै पहिलो नमुना मार्गको उद्घाटन गरिएको छ । कावासोती २ का वडा अध्यक्ष लक्ष्मीप्रसाद पौडेलले नमुना मार्गको उद्घाटन गरेका हुन् ।
कावासोती नगरपालिकाको वडा न.२ स्थित पन्चकन्या चोकदेखि सयपत्री चोकसम्म निर्माण भएको ३ सय ९० मिटर नमुना मार्ग अस्फल्ट प्रबिधिबाट निर्माण गरिएको हो ।
उक्त मार्ग कावासोती नगरपालिकाको २० लाख र जनसहभागिता ९ लाख १० हजार गरी २९ लाख १० हजारको लागतमा निर्माण भएको बाटो निर्माण समितिका अध्यक्ष तुलसी राम श्रेष्ठले जानकारी दिए ।
सरकारी मापदण्ड अनुसार चोक तथा भित्री बाटो छिर्ने स्थानहरुमा जेब्रा क्रसिङ तथा मार्गको बीचबीचमा गति सीमितका बोर्डहरु राखिएको र अबका केही दिनमा मार्गको दायाँ बायाँ फोहोर फाल्ने बाल्टिनहरु राखिने योजना रहेको स्थानीय हरि न्यौपानेले बताए ।