प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना


नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको  ४० लाख रूपैयाँ आर्थिक सहयोगमा ‘रक्तसञ्चार केन्द्र’को स्थापना गरिएको हो ।



नयाँ रक्तसञ्चार केन्द्रको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताल सरकारको अस्पताल भएकाले अन्य सरकारी अस्पतालले दिने सेवा सुविधाभन्दा उत्कृष्ट सेवा प्रदान गर्न आग्रह गरे ।

‘अस्पतालले समयानुसार उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ, आगामी दिनमा झन् राम्रो सेवा प्रदान गर्न लाग्नुहोस्,’ उनले भने ।




व्यावसायिकतालाई विवेकपूर्ण ढंगले उत्कृष्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनकाे भनाइ थियो । अस्पतालका प्रमुख एवं प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. दुर्गा थापाले अस्पतालको क्षमता वृद्धि गर्न अस्पताललाई ३ सय शय्याको अस्पतालको रूपमा विकास गर्न स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको बताए । 

प्रहरी अस्पतालले हाल आकस्मिक, बहिरंग, अन्तरंग र अन्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रहरी नायव महानिरीक्षक डा. मीनराज पाठकले जानकारी दिए । महानिरीक्षक खनालले आजै उक्त अस्पतालमा ‘फिजियोथेरापि रिहाविलिटेशन सेन्टर’को समेत शुभारम्भ गरे ।

विसं २०४० चैत २७ गते २५ शय्याबाट सुरू भएको सो अस्पतालमा अहिले प्रहरी कर्मचारीका लागि १ सय ५० र सर्वसाधारण नागरिकका लागि १० शय्या रहेको छ । रासस



सम्बन्धित
Loading...