बलात्कारको गलत रिपोर्ट दिने डाक्टरलाई जेल सजायको फैसला
तत्कालीन जनकपुर अञ्चल अस्पतालका दुई जना चिकित्सकलाई विशेष अदालत काठमाडौंले दोषी ठहर गरेको छ । बलात्कारको गलत प्रतिवेदन दिएको आरोपमा डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई दोषी ठहर गर्दै जनही ६ महिना कैद र २५ हजार रूपैयाँ जरिमाना तोकिएको हो ।
विशेष अदालत काठमाडौंका न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारूको इजलासले उनीहरूलाई दोषी ठहर गर्दै कैदसहित जरिमानाको निर्णय गरेको छ ।
तत्कालीन जनकपुर अञ्चल अस्पताल हालको प्रदेश अस्पतालमा कार्यरत रहेका चिकित्सक सिंह र गोइतले अधिकारको दुरूपयोग गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
चिकित्सकद्वयले धनुषाकी १२ वर्षीया बालिका बलात्कृत नभएको भनी गलत प्रतिवेदन दिएका थिए । डा. सिंह र डा. गोइतलाई न्यूनतम चिकित्सकीय आचरण तथा व्यवहारविपरीत मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरूको व्यावसायिक प्रमाणपत्रसमेत निलम्बन गरिएको थियो ।