नेवाः महोत्सव नेवारको महोत्सव मात्र नभएर सबै जातिको पहिचान एकआपसमा साट्ने थलो हो


सोमबारदेखि पूर्वी नवलपरासीको अरुणखोलामा मध्यविन्दु सांस्कृतिक तथा नेवाः खाना महोत्सव शुरु हुँदै छ । महोत्सवको सहरी विकास मन्त्री रामविर मानन्धरले उद्घाटन गर्ने भएका छन् । महोत्सवका संरक्षक हरि श्रेष्ठका अनुसार महोत्सवमा १ सय ५० वटा स्टल रहने छन् । महोत्सव अवधि भर नेवार समुदायको संस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रमहरु लाखे नाँच, कुमारी नाँच, मञ्जुश्री नाँच, लाठी नाँच, घोडा नाँच देखिइने छ । महोत्सव पुस ७ गतेदेखि १७ गतेसम्म ११ दिन चल्ने छ।
यसै महोत्सवको पेरिफेरिमा रहेर महोत्सवका संरक्षक हरि श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश



  • नेवाः खाना महोत्सव खास केको लागि हो ?

नेवारको पहिचान, संस्कृतिको पहिचान, जातीय पहिचानदेखि लिएर जातीय सद्भावना फैलाउने उद्देश्यका साथ नेवाः खाना महोत्सव आयोजना गरिएको हो ।




  • खास गरेर महोत्वस उद्योग वाणिज्य संघ, व्यापारिक संघसंस्थाहरुले गर्दछन्, अब नेवारले पनि गर्दैछ । नेवार, गुरुङ, मगर, थारु, जनजाति भनेर महोत्सव गरेर केही अर्थ राख्छ ?

यो हामीले आफ्नो पहिचान र संस्कृति प्रदर्शनका साथै अरु जातिसँग सद्भाव कायम गर्न, एकअर्कासँग सहयोगको भावना उजागर गर्नका लागि हो, त्यसैगरी एक अर्काको पहिचान एकआपसमा साट्नका लागि गर्न लागिएको महोत्सव हो। यसमा नेवारको संस्कृति मात्र नभएर सबै जातजातिको संस्कृति प्रदर्शन गरिने थलोको रुपमा हामीले यसलाई लिएका छौं।

  • यसमा नेवारको संस्कृति झल्कने के के छन् ?

महोत्सवमा नेवारी खाना, नेवारी संस्कृति, नेवारी परम्परागत घरदेखि अन्य जातिको सांस्कृतिक घरहरु यसमा रहन्छ । यसमा नेवार सम्बन्धी विशेष गरेर नेवारको संस्कृति, बौद्धिक र पौराणिक कुराहरु जोडेर राखेका छौं। यसमा एउटा जातिको कला, संस्कृति, भाषा, भेषभुषा, पहिचान अर्को जातिलाई बाँड्ने काम गर्नेछौं । अन्य जातिका समुदायलाई पनि नेवारको संस्कृति यो हो, यस्तो छ, यस्तो हुन्छ भनेर हामी महोत्सवमा देखाउने छौं। नेपाल विभिन्न जातिजाति भाषाभाषीको देश हो, एउटा समुदायको संस्कृति लोपभए त्यो जातिको मात्र संस्कृति लोप हुने नभएर नेपालकै एउटा संस्कृति लोप हुने हो त्यसैले पनि यस्ता महोत्सव अपरिहार्य छ।

  • महोत्सव हेर्न आउनेहरुले नेवार समुदायका के के चिज महोत्सवमा हेर्न पाउँछन् । त्यसको व्यवस्थापन गरिएको छ ?

महोत्सवमा नेवारको मात्र नभएर सबै जातजातिको पहिचानको सांस्कृतिक कार्यक्रमहरु राखेका छौं। जस्तो पुस १५ गते थारुको संस्कृति झल्कने कार्यक्रम देखाउने छौं । १६ गते मगरहरुको, १४ गते गुरुङको, १२ गते कुमालको लागि छुट्याएको छौं । त्यसका साथसाथै नेवारको प्रत्येक दिन एउटा एउटा खाले प्रर्दशनी हुनेछ । नेवारको लाखे नाँच, कुमारी नाँच, मञ्जुरी नाँच, लाठी नाँच, घोडा नाँच रहन्छ । त्यस बाहेक नेवारले आफ्नो भोज भतेर अन्य आफ्नो संस्कृति बचाउने पूजाआजामा प्रयोग गर्ने खानाका कुराहरु लगायत नेवार समुदायको सम्पूर्ण खानाका परिकारका स्वाद लिन सक्छौं। नेवारी लिपी जुन नेवारको मात्र नभएर नेपालको आफ्नो मौलिक लिपी रञ्जना लिपीको अध्ययन गर्ने थलोको रुपमा नेवारी पुस्तकालय राखेका छौं। जुन पुस्तकालयमा पुस्तक विक्री गरेको छ । नेवार समुदायले प्रयोग गर्ने परम्परागत भाँडाकुँडा प्रदर्शन र विक्रीका लागि राखेका छौं।

  • आफ्नो कला संस्कृति र पहिचानका लागि भनेर महोत्सव गर्ने, आयोजक भनेर एउटाको नाम जोड्ने तर ठेक्का दिने अनि कसरी मौलिक कला संस्कृति र पहिचानका लागि महोत्सव आयोजना गरेको हुन्छ ?

त्यस्तो होइन, हाम्रो विभिन्न प्रकारका कला संस्कृतिहरु महोत्सवमा देखाइने छ, खानाको स्टलदेखि सबै हामी आफैले व्यवस्थापन गरेका छौं मात्र महोत्सवको व्यवस्थापकीय पक्षमात्र हामीले अरुलाई जिम्मा दिएका हौं जुन प्राविधिक विषय हो।



सम्बन्धित
Loading...