माओवादीले लुकाएको एसएमजी र १० हजार थान गोली बरामद




सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साबिक भरौल गाविस) स्थित तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको घर परिसरबाट एसएमजी हतियार र १० हजार थान गोली बरामद भएको छ।

नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना मुख्यालयलाई विशेष सूचना प्राप्त भएपछि आइतबार सुरक्षा निकायले खानतलासी गर्दा हतियार र गोली बरामद भएको हो।




एक थान खिया लागेको एसएमजी हतियार र नौ हजार नौ सय ८२ थान गोली भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए। उनका अनुसार स्थानीय खेम प्रधानको घर परिसरको जमिनमुनि गाडिएको अवस्थामा हतियार र गोली बरामद गरिएको हो।

‘२० लिटर प्लाष्टिकको ड्रमभित्र हालेर गाडेको अवस्थामा हतियार र गोली भेटिए,’ एसपी पोखरेलले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ।’

हतियार र गोली भेटिएको घरका धनी प्रधान तत्कालीन नेकपा माओवादीका कार्यकर्ता हुन्। उनले २०६७ सालमा घर परिसरमा कुखुरा फार्म खोलेका थिए। हतियार र गोली सोही कुखुरा फार्ममुनि गाडेर राखिएको थियो।

फार्म ढलान गरिएको जमिनमुनि गाडिएको अवस्थामा हतियार र गोली भेटिएकाले ती २०६७ सालअघि नै राखिएको सुरक्षा निकायको निष्कर्ष छ। ‘२०६७ सालमा कुखुरा फार्मको भुइँ ढलान भएकाले त्यहाँ त्यसभन्दा अघि नै हतियार र गोली गाडिएको भन्ने बुझिन्छ,’ एसपी पोखरेलले भने।



सम्बन्धित
Loading...