बागमति चिनी मिल सञ्चालनमा


  • रामकुमार श्रेष्ठ



नवलपरासी । नवलपरासीमा सुस्ता गाउँपालिका २ कुडियामा रहेको बागमती खाडसारी मिल सञ्चालनमा आएको छ ।
उखु उत्पादन कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बागमती खाडसारी मिल दुई दिनदेखि सञ्चालनमा आएको बताए । उनले भने – सरकारले निर्धारण गरेका मूल्यमा आधारित रहेर उखुको मूल्य भुक्तानी दिने गरी मिल सञ्चालनमा आएको हो ।
नवलपुरमा यस बर्ष १२ लाख क्युन्टल उखु उत्पादन भएको छ । यादवले भने – किसान आत्तिन पर्ने अवस्था छैन । उखु थोरै उत्पादन भएको छ । गत बर्ष नवलपरासीमा १६ लाख क्युन्टल उखु उत्पादन भएको थियो ।
उखु किसानहरुले समयमै भुक्तान नपाउनु र उखुको उचित मूल्य नपाउनु नै प्रमुख समस्या हो ।
नवलपरासीमा रहेका ३ वटा चिनी कारखाना मध्य लुम्बिनी चिनी मिलले औपचारिक रुपमा यस बर्षदेखि मिल बन्द गरेको जनाएको छ ।
बाँकी रहेको दुई वटा चिनी मिल मध्ये इन्दिरा सुगर मिलमा गत बर्षको रकम भुक्तानीको माग गर्दै किसानहरुले तालाबन्दी गरिदिएका छन् । यादवका अनुसार पछिल्लो ३ बर्षको १४ करोड रुपैयाँ इन्दिरा सुगर मिलले किसानलाई भुक्तान दिएको छैन । यादवले भने – इन्दिरा सुगर मिलको आन्तरिक तयारी नै अझै १ महिना लाग्ने देखिएको छ । कम्तिमा एक महिना त्यो मिल सञ्चालनमा आउने देखिदैन ।
त्यसैगरी सुनवल चिनी मिलले गत बर्षको ११ करोड रुपैयाँ किसानहरुलाई भुक्तान नगरी चिनी मिल बन्द गरेको छ । यादवले सुनवल चिनी मिलका सञ्चालकहरु अहिले सम्पर्कमा नरहेको र किसानहरुलाई रकम भुक्तान दिन आलटाल गरेको बताए ।



सम्बन्धित
Loading...