नवलपरासीमा भुकम्पले क्षति भएको विद्यालयको पुननिर्माण ५१ प्रतिशत सकियो, ४९ प्रतिशत अझै बाँकी
- शोभा जिसी –

नवलपुर । भुकम्पले क्षति भएको नवलपरासीका विद्यालयहरु मध्ये अहिलेसम्म ५१ प्रतिशत मात्र पुननिर्माण कार्य सकिएको छ ।
भुकम्पले क्षति पुर्याएको निजी आवासतर्फको पुनःनिर्माण कार्य सक्ने जिल्ला नवलपरासी पहिलो बनेको भएपनि पुर्ण रुपमा क्षति भएका विद्यालय भने अझै सम्पन्न हुन सकेका छैनन् ।
२०७२ बैशाख १२ को महाविनाशकारी महाभुकम्पले नवलपरासीमा २ सय १० वटा विद्यालयका ५ सय २० वटा कक्षाकोठा पूर्ण रुपले क्षति भएको थियो ।
अहिले २१ वटा पुननिर्माण भइरहेको राष्ट्रिय पुर्न््िनर्माण प्राधिकरण जिल्ला आयोजना शिक्षा कार्यान्वयन इकाई नवलपुरका प्रमुख राजेश्वर पराजुलीले बताए ।

पराजुलीका अनुसार २ सय १० विद्यालयका २ सय ६८ वठा कक्षाकोठा मात्र निर्माण हुन सकेको छ भने अझै २ सय ५२ कक्षा कोठा निर्माण गर्न वाँकी रहेको छ । त्यसैगरी ३० शौचालयमा ५ वटा निर्माण सम्पन्न भएको छ ।
चैत्र मसान्तसम्म पूर्ण रुपमा क्षति भएका विद्यालयहरुको निर्माण सक्ने लक्ष्य भएपनि विद्यालयमा प्राधिकरणले वजेट निकासा नदिँदा सम्पन्न गर्न कठिनाई परेको प्रमुख पराजुलीले बताए ।
शिक्षाको भवन निमार्ण गर्दा ४५ करोड खर्च लाग्ने बताइएको छ ।
निजी आवास पुननिर्माण सम्पन्न
भुकम्पले क्षति भएको निजी आवासतर्फको पुननिर्माण कार्य भने सकिएको छ । नवलपरासीमा ८ सय ७२ घर पूर्ण रुपमा क्षति भएकामा दुई जना सम्पर्कमा नआएको र अन्यको पुननिर्माण कार्य सकिएको हो ।
नीजि आवासतर्फ अहिलेसम्म ९४ प्रतिशत नीजि घरहरु निर्माण सम्पन्न भैसकेको र सेवाग्राहीले सवै किस्ता समेत लगिसकेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपुरका प्रमुख राजेन्द्र कार्कीले बताएका छन् ।
पूर्वी नवलपरासीमा भुकम्पबाट निजी आवास क्षति भएको भनेर दुई हजार दुई सय ४६ वटा नयाँ गुनासो दर्ता भएको र आफूहरुले अुनगमन सकेर केन्द्रमा पठाइसकेको प्रमुख कार्कीले बताए ।