एक बर्षमा नवलपुरमा मानवअधिकार उल्लंघनमा ५० घटना, सबैभन्दा बढी बलात्कार घटना




नवलपरासी (कावासोती), १० पुस । नवलपुरमा मानवअधिकार उल्लंघनका ५० वटा घटना भएको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांक अनुसार नवलपुर जिल्लामा सन् २०१९ मा मानवअधिकार उल्लंघनका ५० वटा घटना भएको सार्वजनिक गरिएको हो ।
ति मध्ये सबैभन्दा बढी बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएको पाइएको छ ।
कार्यक्रममा कार्यक्रममा इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को लागि जिल्लामा सन २०१९ मा संकलन गरिएका घटनाहरुको विवरण प्रस्तुत गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेका हुन् ।
उनले ५० मध्ये सबैभन्दा बढी २० वटा घटनाको बलात्कार तथा यौन दुव्र्यवहारका घटना भएको बताए । जसमध्ये १२ जना बालिका र ८ जना महिला पीडित भएको विवरण रहेको उनले बताए ।
त्यसैगरी यो वर्ष नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका १४ जनालाई गिरप्mतार गरिएका १३ वटा घटना फारम संकलन गरिएको जानकारी दिए ।
त्यसैगरी सम्पतीमा क्षतीका ७ वटा, महिला हिंसा ५ वटा, गैरराज्य पक्षबाट हत्या १, प्रहरीलाई धम्की १, विद्यार्थीमाथि कुटपिटको १, महिला बेचबिखन तथा शारिरीक बन्धक बनाएको १ र बोक्सीको आरोप लगाएको सम्बन्धी १ घटनाको अभिलेखिकरण गरिएको डुम्रेले बताए ।
कार्यक्रममा बोल्दै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले कानुनी दयारामा आउन नसकेका मानवअधिकार उल्लघंनका घटनाहरुलाई मुलप्रवाहीकरणमा ल्याउन मानवअधिकारकर्मीहरु क्रियाशिल हुनुपर्नेमा जोड दिए ।
कार्कीले जिल्ला प्रशासन, प्रहरी, अदालत र स्थानीय निकाय सम्म पुग्न नसकेका मानवअधिकार उल्लघंनका घटनाहरुको तथ्यांक, त्यसको कारण र उनीहरुलाई कसरी मुलप्रवाहीकरणमा ल्याउन सकिन्छ भन्ने बारे सबै सरोकारवाला गम्भीर हुनु पर्नेमा जोड दिए ।
कार्यक्रमका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलले मानवअधिकार रक्षाको लागि नेपाल प्रहरी सदैव गम्भीर रहेको भन्दै अधिकारसँगसंगै आफ्नो कर्तव्यको पाटोमा सबै सजक हुन आवश्यक रहेको बताए ।
उनले केही घटनामा पीडित पक्षको उजुरी लिन प्रहरीले आनकानी वा ढिलाई गरेको भन्ने विषय उठेको भन्दै प्रहरीले नियतबस आउने उजुरीहरुको हकमा केही अनुसन्धान भएको हुदाँ त्यस्तो लागेको हुन सक्ने दावी गरे ।
उपभोक्ता अधिकार मञ्च कावासोती नगरपालिकाका अध्यक्ष डोरमान गिरीले उपभोक्ताको अधिकार सुनश्चित गर्न तर्फ सबै गम्भीर बन्न आग्रह गरे ।



सम्बन्धित
Loading...